अकूत सम्पत्ति कमाएको आरोपमा प्रबन्धकविरुद्ध मुद्दा

Post Date : May 9, 2016 | 7:38 pm

काठमाडौँ, २७ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई करोड ८३ लाख ६८ हजार ३० भ्रष्टाचार गरेको अभियोगमा दुग्ध विकास संस्थानका प्रबन्धक डा शत्रुघनप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

संस्थानको प्राविधिक अधिकृतदेखि प्रबन्धकसम्मको पदमा रहँदा साहले पेस गरेको सम्पत्ति विवरणमा आयआर्जन रु एक करोड ४४ लाख ९७ हजार १३४ देखिए पनि खर्च तथा लगानी रु तीन करोड ८३ लाख ६५ हजार १६४ देखिएको आयोगको अध्ययनबाट खुलेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो ।

प्रवक्ताका अनुसार बढी देखिन आएको रु दुई करोड ३८ लाख ६८ हजार ३० को कुनै स्रोत समेत नखुलेको तथा पदीय जिम्मेवारीमा रहँदा अख्तियारको दुरुपयोग एवम् भ्रष्टाचार गरेको पाइएकाले डा साहविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले डा साहकी श्रीमती सुशीलाकुमारीका नाममा समेत चलअचल सम्पति राखेको र त्यसको समेत स्रोत नखुलेको पाइएकाले उक्त सम्पत्ति समेत बिगो असुल उपर गर्न माग गर्दै आरोपपत्र दायर गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *