अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने

Post Date : May 20, 2016 | 1:47 pm

पथरी (मोरङ), ७ जेठ । विराटनगरमा कुल १४ करोड ११ लाख रुपैयाँको लागतमा अढाइ तल्ले अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ ।

बसपार्क निर्माणका लागि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र नगर विकास कोषका निर्देशक मणिराम सिंह महतबीच बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बसपार्क निर्माणका लागि १२ करोड ७० लाख रुपैयाँ ऋण दिने सम्झौतामा हस्ताक्षर गरियो ।

साढे नौ प्रतिशत ब्याजमा २० वर्षसम्ममा उपमहानगरपालिकाकाले तिरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ऋणबाहेक नगर विकास कोषले थप एक करोड पाँच लाख रुपैया अनुदानसमेत दिने भएको छ । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने उद्देश्य लिइएको कार्यकारी प्रमुख रेग्मीले बताउनुभयो ।

बसपार्क निमार्णका लागि विराटनगर उप–महानगरपालिकाले पहिलो चरणमा रु ३५ लाख २७ हजार रकम व्यहोर्नुपर्नेछ । बसपार्कमा साना र ठूला गरी ५० वटा बस राख्न सक्ने क्षमता रहने बताइएको छ ।

कार्यकारी निर्देशक रेग्मीले यो बसपार्क केही वर्षका लागि सञ्चालन गरिने भन्दै बृहद् बसपार्क निर्माणका लागि नगरपालिकाले जग्गा खोजिरहेको बताउनुभयो । तीन महिनाभित्र बसपार्कको निर्माण कार्य सुरु हुने जनाइएको छ । नगरपालिकाले अहिलेको विराटनगरको स्थानीय बसपार्कमै टर्मिनल बसपार्क निर्माण गर्न लागेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *