अनलाइनबाट चार महिनामा एक सय ४४ उद्योग दर्ता

Post Date : June 11, 2017 | 6:20 pm

काठमाडौँ, २८ जेठ । उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनलाइन प्रणाली सुरु गरेको विभागले चार महिनामा १४४ उद्योग दर्ता गरेको हो ।

विभागका प्रवक्ता दुर्गाप्रसाद भूषालले अनलाइन माध्याम सुरु गरेदेखि उद्योग दर्ता गर्ने क्रम बढेको बताउनुभयो । विभागमा हाल ठूला २७, मझौला ३२ र साना ८५ उद्योग अनलाइनमार्फत दर्ता भएका छन् ।

विभागले रु १० करोडदेखि २५ करोड लगानी भएको मझौला तथा रु २५ करोडदेखिमाथि लगानी भएको ठूला उद्योगलाई मात्र दर्ता गर्दै आएको छ भने विदेशी लगानीमा सञ्चालित साना उद्योगलाई समेत दर्ता गर्दै आएको छ ।

विभागमा चालु आर्थिक वर्षको दश महिनामा अनलाइनबाट १४४ सहित ४१८ उद्योग दर्ता भएका छन् । जसमध्ये ठूला ८६, मझौला ७५ र साना २५७ उद्योग दर्ता भएको प्रवक्ता भूषालले बताउनुभयो । गत आर्थिक वर्षमा विभागबाट ४१० ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योग दर्ता भएका थिए ।

संविधान निर्माण र लोडसेडिङको अन्त्यसङ्गै स्वदेशमा औद्योगिकमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता गर्ने क्रम बढेको विभागले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *