अलैँची खेती विस्तार गर्न प्राविधिकको व्यवस्था

Post Date : June 14, 2016 | 5:17 pm

पाँचथर, ३२ जेठ । यहाँका सात गाविसमा व्यावसायिक रुपमा अलैँची र अदुवाको खेती विकास एवम् विस्तार गर्न कृषि प्राविधिकको व्यवस्था गरिएको छ ।

अलैँची तथा अदुवाको प्रशस्त उत्पादन हुने ती बालीको व्यावसायिक उत्पादनमा सघाउ पु¥याउने उद्देश्यका साथ कृषि प्राविधिकको व्यवस्था गरिएको हो । सरकारले चालु आवको बजेटमार्फत सबै गाविसमा कृषि प्राविधिकको व्यवस्था गर्ने घोषणा गरेको भए पनि अर्थ मन्त्रालयले कृषि विकास मन्त्रालयलाई प्राविधिक राख्ने बजेट उपलब्ध गराएको थिएन ।

तर, पछिल्लो पटक अर्थ मन्त्रालयले बजेटको व्यवस्था गरेपछि कृषि प्राविधिकको व्यवस्था गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बेनुप्रसाद प्रसाईंले जानकारी दिनुभयो । जिल्लामा अलैँची तथा अदुवाको व्यावसायिक उत्पादन हुने गाविसलाई ‘जोन’, ‘सुपरजोन’ र ‘ब्लक’ गरी तीन तहमा वर्गीकरण गरिएको छ ।

अलैँचीको पकेट क्षेत्र मानिएका सिदिन र एकतीन गाविस, अलैँची खेतीको विस्तार गर्न चिलिङ्दिन, आङ्सराङ र फाक्तेप गाविसमा कृषि प्राविधिकको व्यवस्था गरिएको छ । मूल्य महँगो रहेको, सधैँ बजार पाउने र कडा परिश्रमबिना उत्पदान गर्न अलैँचीको खेती विस्तार गर्न तथा खेती गरिएको क्षेत्रबाट गुणस्तरीय उत्पादनमा वृद्धि गर्न कृषि प्राविधिकले मद्दत गर्न सक्ने विश्वास कार्यालयको छ ।

यस्तै अदुवाको व्यावसायिक खेती विस्तार तथा गुणस्तरीय उत्पादनमा सघाउ पु¥याउने उद्देश्यका साथ जिल्लाको भारपा र सुभाङ गाविसमा कृषि प्राविधिकको व्यवस्था गरिएको छ । अदुवाको मूल्य बर्सेनि बढ्दै गएको, सानातिना रोगको समाधान गर्नलाई पनि कृषक सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको तथा अदुवाको रोग पहिचानमै समस्या रहेका बेला कृषि प्राविधिकको व्यवस्था हुनु सुःखद रहेको कृषकको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *