असम्भव भनिएको लिफ्टबाट सिँचाइ र खानेपानी

Post Date : August 11, 2017 | 9:17 am

नुवाकोट, २७ साउन । नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा जारी रहेको खानेपानी र सिँचाइ समस्या स्थानीयवासीले लिफ्ट परियोजनामार्फत समाधान गरेका छन् ।

वडा नं ५ भित्र पर्ने सय घरधुरी बासिन्दाको खानेपानी र उनीहरुले उपभोग गर्दै आएको दुई हजारभन्दा बढी रोपनी जग्गामा सिँचाइ अभावको समस्या समाधानका लागि लिफ्ट परियोजनामार्फत सफल भएको हो ।

बस्ती नजिकैबाट तादी र त्रिशूली नदी बगिरहे पनि भोग्दै आएको समस्या समाधान गर्न स्थानीवासीले रु ५२ लाख लगानी गरी लिफ्टमार्फत सिँचाइ र खानेपानी दुवै सुविधा उपभोग गर्न शुरु गरेको हकुवा–माझगाउँ–पिपलटार लिफ्ट सिँचाइ तथा खानेपानी योजनाका अध्यक्ष उत्तमप्रसाद ढकालले बताउनुभयो ।

हकुवास्थित तादी खोलामा पानी तान्ने उपकरण जडान गरी अग्लो स्थानमा रहेको पिपलटारस्थित माझगाउँसम्म ८०० मिटर पाइप जडान गरी पानी ल्याउन सफल भएपछि खानेपानी र सिँचाइ दुवैको समस्या समाधानतर्फ उन्मुख हुन थालेको छ ।

सरकारीस्तरबाट भएको सम्भाव्यता अध्ययनमा ‘असम्भव’ भनिएको परियोजना परीक्षणको समयमा ५० घरधुरी बासिन्दालाई खानेपानी र ४० घरधुरी बासिन्दाको जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको लिफ्ट सिँचाइ परियोजनाका सल्लाहकार लीलानाथ न्यौपानेले बताउनुभयो ।

परीक्षण सफलभएपछि परियोजनालाई बृहत् बनाउन आसपासका बासिन्दा र विदुर नगरपालिकासमेत लगानी गर्न सकारात्मक भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *