आफ्नै व्यवसायबाट आत्मनिर्भर बन्दै महिला

Post Date : December 7, 2016 | 2:02 pm

ललितपुर, २२ मङ्सिर । आफ्ना उमेरका साथीहरु धमाधम विदेश पलायन भइरहँदा पाटनकी मनिषा ताम्राकार भने सफल उद्यमी बनेर नाम र प्रतिष्ठा कमाउन चाहन्छिन् । करिब ५ वर्षपहिले पारिवारिक व्यवसायका रुपमा रहेको हस्तकलामा हात हालेकी उनी यही पेसालाई निरन्तरता दिने सोचमा छिन् ।

नेपाल उडक्राफ्ट नामक पारिवारिक व्यावसायिक संस्थालाई अझै उचाइमा पुरयाउने ताम्राकारको सोचाइ छ । आफू पनि महिला भएकाले धेरै महिलालाई रोजगारी दिने योजना उनले सुनाइन् । भन्छिन्, “अहिले हाम्रोमा १० जना कामदार दिदी–बहिनी भएकामा त्यो सङ्ख्या बढाउन चाहन्छु ।” २९ वर्षपहिले देखि हस्तकलाको काम गर्न थालेकी पाटनकी यमुना बज्रचार्यले व्यवसाय सम्हालेको ६ वर्ष भयो । बिहे गरेर आएदेखि नै हस्तकलासम्बन्धी काम गर्न थालेकी थिइन् ।

उनलाई आफूले उत्पादन गरेका सामग्रीको बजार लगायतका कुनै विषयमा पहिले जानकारी थिएन । आफू उद्यमी भएको समेत पत्तो थिएन । ६ वर्षपहिले देखि नै उनी ललितपुर उद्योग वाणिज्य सङ्घ लगायतका संस्थामा आबद्ध हुन थालेकी हुन् । नेपाल मात्रै नभएर विदेशका सम्मेलन र गोष्ठीमा उनी सहभागी भइसकेकी छिन् । भन्छिन्, “हामी महिलाले घरबाहिर निस्कने अवसर पाउँदा धेरै कुरा सिक्न सक्छौँ ।”

ताम्राकार र बज्राचार्य जस्तै महिला उद्यमीको सङ्ख्या बढ्दै छ । आफ्नै सीप र लगानीमार्फत आत्मनिर्भर बन्ने महिलाको सङ्ख्या बर्सेनि बढिरेहको छ । महिला आफ्नो व्यवसायबाट आर्थिक आम्दानीसँगै सामाजिक प्रतिष्ठा बढेको बताउँछन् । महिलाको लगानीमा सञ्चालित व्यवसायमा कामदार पनि महिला नै धेरै छन् । आफू महिला भएकाले महिलालाई नै रोजगारी दिन उद्यमी महिला चाहन्छन् ।

पाटनकी जरिना श्रेष्ठ बिहापहिले थान्कासम्बन्धी काम गर्नुहुन्थ्यो । बिहेपछि उहाँ सुन–चाँदी व्यवसायमा लाग्नुभयो । उहाँको अहिले आफ्नो छुट्टै कम्पनी रहेको छ । परिवारको सहयोग नभई पनि व्यवसाय सुरु गरेका र सञ्चालन गरिरहेका महिला समाजमा धेरै छन् । पारिवारिक सहयोगमा व्यवसाय गर्दा अझै सहज हुने अनुभव श्रेष्ठ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “व्यवसाय सुरु गरेपछि आम्दानी गर्न सकिन्छ, तर महिलालाई सुरुमा पुँजी जुटाउनै गाह्रो पर्छ ।”

ललितपुर उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्य लजना श्रेष्ठ जिल्लामा महिला उद्यमीको सङ्ख्या बढिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ललितपुर उद्योग वाणिज्य सङ्घमा मात्रै एकसय ६४ जना महिला सदस्य छन् ।” महिलाको उत्पादनमा योगदान हुँदाहुँदै पनि व्यवस्थापनसम्म पहुँच कम रहेको छ । ललितपुरमा हस्तकलासम्बन्धी काममा धेरै महिला आबद्ध रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी कार्यसमिति सदस्य कमला श्रेष्ठले महिला उद्यमी आत्मनिर्भर बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले कमाएको पैसा श्रीमान्लाई नै राख्नदिने र कति खर्च गरौँ भनेर सोध्ने धेरै छन् ।” आफूले चार दशकपहिले १० हजार पुँजीबाट व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो ।

महिला उद्यमीलाई राज्यले प्राथमिकता दिँदा महिला उद्यमीको सङ्ख्या बर्सेनि बढिरहेको छ । महिला हिंसा कम गर्न पनि उनीहरु आर्थिकरुपमा सक्षम हुन आबश्यक छ । बाबु वा श्रीमान्को नाममा सम्पत्ति हुँदा महिलाले ऋण लिएर व्यवसाय सुरु गर्नसक्ने अवस्था छैन । उहाँ भन्नुहुन्छ, “धेरै महिला जोखिम लिन डराएका छन्, उनीहरुमा आत्मविश्वास बढाउनुपर्ने खाँचो छ ।” (सञ्चिता घिमिरे) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *