एउटै सहकारीका २८ जना उम्मेदवार

Post Date : June 11, 2017 | 3:39 pm

दमक, २८ जेठ । झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ ।

संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार नेकपा (एमाले)का तर्फबाट दमक नगरपालिकाको प्रमुखमा संस्थाका अध्यक्ष रोमनाथ ओली उम्मेदवार बन्नुभएको छ भने सोही संस्थाकै सञ्चालक सदस्य गीता अधिकारी पनि एमालबाटै नगर उपप्रमुखको उम्मेदवार बनाइनु भएको छ ।

त्यस्तै, ६ जना सदस्य विभिन्न पार्टीबाट वडाध्यक्षको उम्मेदवार बनेका छन् । राजनीतिक दलमध्ये एमालेबाट १६, नेपाली काँग्रेसबाट आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तीन, माओवादी केन्द्रबाट एकजना उम्मेदवार बन्नुभएको सो सहकारीका व्यवस्थापक बगाले बताउनुहुन्छ ।

संस्थाका सञ्चालक समितिका कोषाध्यक्ष लक्ष्मी दाहाल दमक–६ को वडा सदस्य र धितो मूल्याङ्कन उपसमितिका संयोजक टेकबहादुर थापा र दमक–६ को वडाध्यक्षका उम्मेदवार बन्नुभएको छ भने सञ्चालक समितिसँगै उपससमितिमा रहेका धेरैले वडा तहमा विभिन्न दलका तर्फबाट उम्मेदवारी दिएको उहाँले बताउनुभयो । विसं. २०५४मा स्थापित उक्त सहकारीमा दुई हजार ७६८ सदस्य आबद्ध छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *