कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

Post Date : June 15, 2017 | 1:20 pm

बेनी (म्याग्दी), १ असार । प्रचण्ड गर्मी अनि असार महिनाको सुरुवातसँगै प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने ।

घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ र हावाहुरी चल्दा त्रिपाल च्यातिने तथा उडाउने डर छ उनीहरुलाई बाँस र काठको भरमा त्रिपालको छेउछाउका टुप्पामा डोरी बाँधेर बनाइएको छानो कति बेला भत्कने हो थाहा छैन । पढ्ने समयमा कतिबेला छाना उडाइदिन्छ हावाले भन्ने मात्रै डर छ मनमा ।

हो, यस्तै समस्या भएको छ पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बुद्धि विकास माविमा अध्ययनरत विद्यार्थीलाई । उनीहरु कक्षाकोठाको अभावमा त्रिपालमुनि बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको भवन र कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको हुँदा उनीहरु त्रिपालको साहारा लिएर अध्ययन गर्दै आइरहेका छन् ।

गएको असोज महिनादेखि विद्यालयमा भवन निर्माणकार्य सुरु गरेपछि ३, ४, ५, ७ र ८ कक्षाका विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको हो । त्रिपालमुनि बसेर पढ्ने क्रममा पानी पर्दा चुहिने, घाम लाग्दा गर्मी हुने र हावाहुरी चल्दा त्रिपाल च्यातिने हुँदा पढाइमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

भवनको अभावमा पालमुनि बसेर अध्ययन गर्नुपर्ने बाध्यताको समाधान गर्नुपर्ने कक्षा ८ मा अध्ययनरत विद्यार्थी दीपक विकले बताउनुभयो । पालमुनि बसेर पढ्दा आफूहरु जाडो र गर्मी समयमा धेरै समस्या भोग्नुपरेको अर्का विद्यार्थी पवित्रा पुनले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय म्याग्दीको रु साढे १३ लाख र ब्रिटिस गोर्खा वेलफेयर स्किमको रु एक करोड १० लाखको लागतमा आठ कोठे भूकम्प प्रतिरोधी भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ । भवन निर्माणले एक हप्ताभित्रै पूर्णता पाउने भएको हुँदा त्यसपछि विद्यार्थीको पढाइ व्यवस्थित गरिने विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले बताउनुभयो ।

हाल उक्त विद्यालयमा ३७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने व्यवस्थित खेलमैदान र दरबन्दीअनुसार शिक्षक नहुँदासमेत समस्या रहेको विद्यालयको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *