कम्प्युटरले दृष्टिविहीनलाई आत्मनिर्भर बनाउँदै

Post Date : November 8, 2016 | 2:00 pm

पथरी (मोरङ), २३ कात्तिक । दृष्टिविहीन रहनुभएका मोरङको उर्लाबारीका बालकुमार तामाङलाई कम्प्युटर चलाउन सक्छु भन्ने विश्वास थिएन ।

उहाँ आफैँले केही वर्षअघि कम्प्युटर सिक्ने इच्छा त राख्नुभयो, तर दृष्टिविहीनलाई सिकाउने व्यवस्था नहुँदा उहाँको इच्छा अधुरै रह्यो । तर, मोरङको राजघाटस्थित ग्रामीण अपाङ्ग सेवा सङ्घले एक्काइसौँ शताब्दीमा कम्प्युटरसँग खेल्ने उहाँको इच्छालाई साकार बनाइदियो ।

यस्तै, दृष्टिविहीन नै रहेका सुनसरी चिमडीका देवनारायण रौनियारलाई पनि कम्प्युटर चलाउने औधि चाहना थियो । चिमडीकै एक विद्यालयमा अध्यापन गराउँदै आउनुभएका उहाँ सङ्घबाट कम्प्युटर तालिमसँगै हाल कम्प्युटरका काम सजिलै गर्न माहिर हुनुहुन्छ । सबै भाषामा टाइप गर्ने र नेटका सबै काम गर्नसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “म त अब स्कुलमा विद्यार्थीलाई कम्प्युटर पढाउन पनि सक्छु जस्तो अनुभूति भएको छ ।”

तामाङ र रौनियारजस्तै सङ्घबाट निःशुल्क कम्प्युटर तालिम लिइरहेका पूजा शर्मा, युवराज निरौला, विपीन अधिकारी, मञ्जु दनुवारलगायत दुई दर्जन दृष्टिविहीनले कम्प्युटरबाट आत्मनिर्भर बन्न तालिम लिन व्यस्त छन् ।

ग्रामीण अपाङ्ग सेवा सङ्घ, राजघाटका अध्यक्ष जीवनाथ खतिवडाका अनुसार अपाङ्गताका कारण हीनताबोधमा बाँचिरहेका दृष्टिविहीनलाई आत्मनिर्भर बनाउने उद्देश्यले सङ्घले छ महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको हो ।

गत असारदेखि आयोजना भएको सो तालिममा दुई दर्जन दृष्टिविहीन व्यक्तिले तालिम लिइरहेका छन् । तालिमको प्रशिक्षण पनि खतिवडा आफैँले गरिरहनु भएको छ । खतिवडा दृष्टिवाचक सफ्टवेयरसम्बन्धी मोरङ जिल्लाकै एक मात्र अनुभवी एवम् दक्ष व्यक्ति हुनुहुन्छ ।

उहाँका अनुसार दृष्टिविहीनले कम्प्युटर चलाउँदा दृष्टिवाचक सफ्टवेयर (जज) को सहायताले कम्प्युटर चलाउनु हुन्छ । जजले निर्देशन गरेको आधारमा किबोर्ड मात्र प्रयोग गरी कम्प्युटरका सबैखाले काम गर्न सकिन्छ ।

आँखा देख्ने व्यक्तिले भन्दा पनि शुद्ध र छिटो गरी नेपाली र अङ्ग्रेजी दुवै भाषामा टाइप गर्ने, नेट–इन्टरनेट तथा फेसबुक चलाउने जस्ता कार्य सहजै गर्न सकिने तालिममा सहभागी देवनारायण रौनियारको भनाइ छ । (गोपाल प्रसाद पोखरेल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *