कालीगण्डकी लोकमार्गको निर्माण तीव्र

Post Date : October 6, 2016 | 10:54 am

फलेवास (पर्वत), २० असोज । करिब एक दशकदेखि अलपत्र बनेको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण तीव्ररुपमा अघि बढेको छ ।

राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको भारत र चीन जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको छ । लोकमार्गअन्तर्गत सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको हो ।

उक्त सडकखण्डमा ट्र्याक खोल्ने, सडक चौडा बनाउने, तारजाली हाल्ने, कल्भर्ट बनाउने, नाली काट्नेलगायतको कामले तीव्रता पाएको छ । उक्त खण्डको स्तरवृद्धि गर्न रु ३९ करोड विनियोजन भइसकेको छ ।

सो सडकखण्डको काम २०७४ असारभित्र सम्पन्न गर्नेगरी दुई ओटा निर्माण कम्पनीमार्फत काम भइरहेका छन् । अहिले मिर्मी–रानीपानी खण्डमा काष्ठमान्डप निर्माण कम्पनी र रानीपानी–कुश्मा खण्डमा सूर्य कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन् ।

सडकको स्तर १० मिटर फराकिलो बनाइनुका साथै मोड तथा ग्रेड सुधार र ह्युम पाइप, कल्भर्ट निर्माण गर्नु मुख्य रहेको सूर्य कन्स्ट्रक्सन प्रालिका सञ्चालक आरके थापाले जानकारी दिनुभयो ।

कालीगण्डकी लोकमार्ग दक्षिणमा रहेको पूर्वपश्चिम राजमार्गबाट प्रारम्भ भई तीन अञ्चल नौ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाकासम्म जोडिएकाले यस क्षेत्रको विकासका लागि मेरुदण्डका रुपमा लिइएको छ ।

लोकमार्गको निर्माणपश्चात् यस क्षेत्रको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *