किबी उत्पादनले किसान उत्साहित

Post Date : June 21, 2016 | 5:46 pm

डडेल्धुरा, ७ असार । जिल्लामा किबीमा फल लाग्न थालेपछि किसान उत्साहित भएका छन् ।

तीन वर्ष अगाडि रोपेका किबीका बोटमा अहिले फल लाग्न थालेको छ । यस वर्ष कृषक किबी फल बिक्री गर्न पाउने भएका छन् । “किबी फल बिक्री गर्ने तयारीमा छौँ,” अमरगढी नगरपालिका– ७ दमडाका बेदप्रकाश भट्टले भन्नुभयो । यस वर्ष दुई रोपनी जमिनमा तीन क्विन्टलसम्म किबी फलेको उहाँको भनाइ छ ।

किबीको बारीमा तरकारी र खाद्यान्नसमेत फलाउने गरिएको अर्का किबी व्यवसायी प्रयागराज भट्ट बताउनुहुन्छ । किबीखेतीबाट कृषकले अतिरिक्त आयआर्जन गर्न सक्ने भएका छन् । दोलखाबाट ल्याइएको किबीको बीउ जिल्लाका विभिन्न क्षेत्रमा खेती गरिँदै आएको छ ।

उपयुक्त हावापानीका कारण समयमै फल लाग्न थालेकाले किबी खेती गर्न कृषक उत्साहित भएका र बिरुवाको माग बढेको कृषि विकास कार्यालयका प्रमुख दिनेशप्रसाद सापकोटाले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयले नमुनाका रुपमा दह ब्यारेक, दमडा, बगरकोटलगायत ठाउँमा किबी खेतीको सुरुवात गरेको हो । पहिलो चरणमा जिल्लाभरिमा एलिसन र मोन्टो प्रजातिका किबी फलका आठ सय बिरुवा रोपिएका कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *