क्लिनिक गैरकानुनी रुपमा सञ्चालित

Post Date : January 30, 2018 | 2:08 pm

गाईघाट, उदयपुर, १६ माघ । कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् ।

गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीयवासी शम्भुप्रसाद दाहालले बताउनुभयो । अविनाश प्याकुरेल नेतृत्वको टोली दुई दिनसम्म बस्दा पनि अवैध औषधि पसल सञ्चालकले बन्द गरेका थिए ।

अनुगमन टोली विराटनगर प्रस्थान गर्नेबित्तिकै अहिले फेरि त्यस्ता अवैध औषधि पसल र क्लिनिक पुनःसञ्चालन हुन थालेको कटारी त्रिवेणीका हेमराज कार्की बताउनुहुन्छ । सगरमाथा अस्पताल, देव मेडिकल, रोहित रोशन मेडिकल, साझा पोलिक्लिनिकसहित दर्जनौं औषधि पसल र क्लिनिक अहिलेसम्म पनि गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको आरोप कटारी बजारकै एक पुराना मेडिकल सञ्चालकले लगाए ।

यस्ता अवैध पसलसँग आधिकारिक कागजात नभएको र धेरैले करसमेत नतिरेको वा करको दायरामा नआएको क्षेत्रीय औषधि कार्यालय विराटनगरका कर्मचारीले बताएका छन् । इजाजतपत्र नभएका अवैध क्लिनिक तथा औषधि पसलले औषधिको मूल्य दोब्बर लिने र बिरामी जाँच गर्दा महँगो शुल्क लिने गरेको आरोप लगाइएको छ ।

कतिपय क्लिनिकले बिरामीलाई गलत औषधि सिफारिस गर्ने र लामो समयसम्म आफ्नै क्लिनिकमा झुलाएर राख्ने गरेको कटारी हरैयाका देवबहादुर कटुवालको भनाइ छ । यस्ता अवैध क्लिनिकको भरपर्दा अन्त्यमा बिरामी उपचारका लागि बाहिर जान बाध्य हुनुपर्ने र कतिपयको ज्यान नै जाने गरेको कटारीवासी बताउँछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *