खेलकुद समाचार, सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल

Post Date : July 22, 2016 | 11:33 am

काठमाडौँ, ६ साउन । सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ ।

सातौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा आज सात दोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि ३५ खेल समावेश गर्ने भनिएको थियो ।

शारीरिक सुगठन, पौडी र ट्रायथलनका राष्ट्रिय प्रतियोगिता यसअघि नै सकिइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । यस पटकदेखि एथलेटिक्स अन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै बैठकले सातौँ खेलकुदका लागि खेलाडी दर्ता यही साउन २५ देखि आगामी भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मङ्सिर ३ गतेलाई ताकेको छ ।

गत आइतबार सम्पन्न राखेपको १०६ औंँ बोर्ड बैठकले सातौँ राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मङ्सिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो । बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भए पनि सातौँ राष्ट्रिय खेलकुद स्थगन भएको थियो ।

पौडी सङ्घको पुरस्कार घोषित

नेपाल पौडी सङ्घले आसन्न रियो ओलम्पिकमा सहभागी हुने पौडी खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गरे खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आगामी अगस्टमा ब्राजिलको रियो द जेनेरियोमा हुने रियो ओलम्पिकमा शिरीष गुरुङले १०० मि फ्रिस्टायलमा र गौरिका सिंहले १०० मि ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछन् ।

सङ्घका अनुसार शिरीषले आफ्ना नाममा रहेको ५८.२२ सेकेन्डका समयमा सुधार गर्दै ५६.०० सेकेन्ड र गौरिकाले आफ्नो नाममा रहेको १ मिनेट ०७.३१ सेकेन्डको समयलाई १ मिनेट ०५ सेकेन्डमा झार्न सकेमा जनही रु ५० हजार प्रदान गर्ने घोषणा गरिएको हो । त्यस्तै दुवैले आफ्नो व्यक्तिगत समयमा सुधार गरेमा पनि जनही रु २५ हजार प्रदान गरिने घोषणा भएको छ ।

एचएचसीएलाई प्याब्सन बास्केटबल उपाधि

हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसिए)ले सातौँ प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा आज भएको रोमाञ्चक फाइनलमा एचएचसिएले रेडिअन्टलाई ५१–५० को साँघुरो अन्तरले पराजित ग¥यो । एचएचसिएको जितमा विशाल राईले सान्दार प्रदर्शन गर्दै ३८ अङ्क योगदान गरे ।

एचएचसिएले खेल सकिन ३ सेकेन्ड बाँकी छँदा उपाधि सुनिश्चित गरेको थियो । त्यस बेला एचएचसिए ४९–५० ले पछि थियो । त्यो समयमा एचएचसिएले ‘टु फ्री सट’ पायो र विशालले लगातार दुई अङ्क स्कोर गर्दै जित सुनिश्चित गरेका थिए ।

पहिलो र तेस्रो क्वाटरमा एचएचएसीले जितको आधार खडा गरेको थियो । एचएचसिएले पहिलोमा १३–८ र तेस्रोमा १५–१३ को अग्रता बनाएको थियो । रेडिअन्टले दोस्रोमा १५–१३ र चौथोमा १४–१० को अग्रता हासिल गरे पनि जित हात पार्न सकेन ।

निजी तथा आवासीय विद्यालयको सङ्गठन (प्याब्सन) काठमाडौँद्वारा आयोजित प्रतियोगितामा ओडिसीले तेस्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता विशाल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । रेडिअन्टका राजन दाहाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । प्रतियोगिताभर १९२ स्कोर गरेका ओडिसीका सागर लामा सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे, काठमाडौँ प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङ, प्रतियोगिता संयोजक अनन्त कुँवर लगायतले पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ३२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । (दीपेन्द्र सापकोटा) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *