गभर्नरद्वारा स्पर्स लघुवित्त वित्तीय संस्थाको उद्घाटन

Post Date : August 11, 2017 | 4:46 pm

पोखरालेखनाथ, २७ साउन । नेपाल राष्ट्र बैंकबाट लघुवित्त कारोबार गर्ने इजाजतपत्रप्राप्त ५२ औं संस्थाको रुपमा पोखरालेखनाथ महानगरपालिकास्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्था लि. को उद्घाटन २०७४ साउन २७ गते शुक्रबार प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले देशमा संख्यात्मक रुपमा धेरै लघुवित्त संस्थाहरु स्थापना भइरहेकोले अबका दिनहरुमा गुणात्मक विकास गरी गुणस्तरीय सेवा दिनुपर्ने कुरा बताउनुभयो । प्रादेशिक अवधारणामा गइसकेकोमा ७ वटा प्रदेशको ७४४ वटा स्थानीय क्षेत्रमध्ये करीब २५० वटा गाउँपालिकामा हाल बैंकिङ्ग पहुँच नपुगेकोले कुनै एक वाणिज्य बैंकको अनिवार्य शाखा पुग्नु पर्ने नियम बनाई सबै बैंकहरुलाई निर्देशन दिइसकिएको र सोही अनुरुप बैंकहरुले पनि प्रतिवद्धता जनाइसकेको हुँदा सोही क्षेत्रमा लघुवित्त संस्थाहरुले शाखा खोली कार्यक्रम विस्तार गर्न सल्लाह दिनुभयो । त्यसैगरी लघुवित्त भनेको विशुद्ध नाफा कमाउने क्षेत्र नभई सामाजिक सेवा पनि भएकोले नाफा कमाउने मात्र उद्देश्य राखेर काम नगर्न संचालकहरुलाई सुझाव दिनुभयो । करीव एक दशक अगाडि नै क, ख र ग वर्गका वित्तीय संस्थाहरु दर्ता गर्न रोक लगाइसकिएको भएतापनि ग्रामीण दुरदराजमा काम गर्ने घ वर्गका संस्थाहरु दर्ता खुला रहेकोले अलिकति पैसा भए लघुवित्त खोल्ने परिपाटीले गर्दा हाल लघुवित्तको मर्म विपरित कार्य हुन थालेकोले यसको पनि दर्तामा रोक लगाइएको कुरा स्पष्ट पार्नुभयो । यस वित्तीय संस्थाले काम गर्दा सरोकारवालाहरु तथा नियमनकारी निकायहरुले गुनासो नआउने गरी काम गर्न सुझाब दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्र बैंक पोखराका प्रमुख पोमनाथ गौतम, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष प्रो. डा. पुष्पराज कँडेल, नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायतका बक्ताहरुले वित्तीय संस्थाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । त्यस्तै गरी वित्तीय संस्थाका संचालक श्री राजुराम अधिकारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

वित्तीय संस्थाका अध्यक्ष प्रा. डा. शुशिल भक्त माथेमाले वित्तीय संस्था स्थापना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै सोही उद्देश्य बमोजिम काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो साथै नियमन निकायको निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै ग्रामीण क्षेत्रको गरिवि न्युनीकरण गर्न संस्थाले दुरदराजमा रहेका विपन्नवर्गलाई सेवादिने कुरा व्यक्त गर्नुभयो त्यसैगरी अध्यक्षले हाल लघुवित्तलाई प्रदान गर्ने विपन्न वर्गको कर्जालाई बैंक वित्तीय संस्थाहरुले अन्य कर्जा सरह ब्याजदर लिने कार्य गर्दै आएको हुँदा लघुवित्त संस्थाहरुलाई काम गर्न अप्ठ्यारो परेकोले त्यसतर्फ ध्यान दिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले हाल ५.६० करोड चुक्ता पूँजी राखी १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहुँच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त संचालनमा ल्याउने कुरा जानकारी गराउनुभयो । वित्तीय संस्थाले चालु आ.व. मा १५ वटा शाखा मार्फत करिब १२००० विपन्न सदस्यहरुलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको जानकारी गराउनु भयो । लघुवित्त कार्यक्रम सगै रेमिट्यान्स, लघुविमा, जिवन विमाको एजेन्ट, प्रविधि मैत्री लघुवित्त बैंकिङ्ग सेवा, सामाजिक कार्यक्रमहरु, तालिम तथा विकाशका कार्यक्रमहरु आदि संचालन समेत गरिने छ । स्थानीय सिप तथा क्षमताको प्रयोग गर्ने उद्देश्यले शाखा रहेका स्थानीय स्थानहरुको सदस्य महिला, स्थानीय महिला पुरुष तथा जोस जागर भएको युवाहरुलाई लघुवित्त कार्यक्रममा सहभागी गराएर अगामी ५ वर्ष भित्र ७० वटा शाखामा करिब १४० महिला तथा युवाहरुलाई सहजकर्ताको रुपमा स्वरोजगार बनाउने खालको कार्यक्रम संचालन गरिने जानकारी गराउनुभयो । अभिभावक तथा सदस्यहरुको भेला तथा गोष्ठीहरु आयोजना गरी समय सापेक्ष कार्यक्रमलाई दिगो बनाउन सल्लाह सुझाव तथा गुनासो सुन्ने काम गरिने र वित्तीय साक्षरतालाई अभियानको रुपमा अघि बढाउने कुरा ब्यक्त गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *