ग्रामीण उद्यम तथा विप्रेषण आयोजना सुरु

Post Date : June 18, 2017 | 3:32 pm

काठमाडौँ, ४ असार । वैदेशिक रोजगारीबाट फर्किएकाहरु फेरि विदेसिनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले आजदेखि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सुरु गरिएको छ ।

नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको लगानीमा सुरु भएको सात वर्षीय उक्त आयोजनाले १६ जिल्लाका एक लाख ७९ हजार ६६० जनालाई सेवा प्रदान गर्नेछ ।

आयोजनाबाट ६० हजार उद्यम र ३० हजार बेरोजगार युवालाई रोजगारी प्रदान गरिने छ भने स्वदेश तथा विदेशमा बचत तथा लगानी क्षमता अभिवृद्धिसम्बन्धी दुई लाख ४४ हजार ८०० जनालाई वित्तीय शिक्षा प्रदान गरिनेछ ।

उक्त आयोजना भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, मोरङ, सुनसरी, सप्तरी, सिरहा, ओखलढुङगा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा सञ्चालन हुनेछ ।

आयोजना प्रारम्भ गर्न आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेल र उद्योग मन्त्रालयका सचिव शङ्कर कोइरालाले गरिब तथा विपन्न परिवार र तिनका सदस्य, आप्रवासी कामदार एवम् वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकालाई ग्रामीण क्षेत्रमा लघु, साना तथा मझौला उद्यम सञ्चालन गरी दिगो आम्दानीको स्रोत सुनिश्चित गर्नु आयोजनाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार राष्ट्रिय विकास योजना, ओद्योगिक नीति तथा दीर्घकालीन कृषि विकास रणनीतिलाई दृष्टिगत गरी आयोजनाले ग्रामीण घरपरिवार, बेरोजगार युवालाई कृषि तथा गैरकृषि क्षेत्रका लघु उद्यम र साना उद्यमको प्रवद्र्धन गरी स्वरोजगारी र आयआर्जनमा वृद्धि गराउनेछ ।

आयोजनाले लोक्ता, अल्लो, अलैँची, बेसार, अदुवा, बाख्रापालन, आँप, उखु, लिची, सुन्तला र जुनार, किवी, आलु तथा केरा खेतीलगायत कृषि उपज उत्पादनमा विशेष जोड दिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *