ग्रामीण महिला तरकारी खेतीबाट आत्मनिर्भर

Post Date : June 11, 2017 | 3:43 pm

बेनी (म्याग्दी), २८ जेठ । तीन वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने रु दुई/चार सयका लागि श्रीमान् वा माइतीको भर पर्नुपर्ने बेनी नगरपालिका–४ सिङ्गाकी सीता परियारलाई अहिले रु आठ–दश हजारका लागि कसैसँग हात थाप्न नपर्ने भएको छ ।

पहिले चुरा पोते किन्न र बजार वा आफन्तकहाँ जान श्रीमान्सँग पैसा माग्ने गर्नुभएकी उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आफैँले श्रीमान्लाई पैसा दिने गर्न थाल्नुभएको छ । “व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानी आफूले घरखर्च मात्रै होइन, बचतसमेत गर्दै आएको छु”, परियारले भन्नुभयो । परम्परागत खेतीबाट निर्वाह नभएर व्यावसायिक तरकारी खेती गरेपछि आफू वार्षिक रु तीन लाखसम्म कमाउन सफल भएको परियारले बताउनुभयो ।

“पहिले पैसाकै कारण श्रीमान्सँग दिनहुँजसो झगडा हुन्थ्यो तर आजभोलि भने मिलेर काम गर्दा झगडा होइन सफलता मिलेको छ, यसले परिवारमा समेत खुसियाली छाएको छ”, परियारले भन्नुभयो । यसरी व्यावसायिक तरकारी खेतीबाट आफ्नो जीवस्तरमा परिवर्तन गर्ने परियार मात्रै होइन, उहाँजस्ता धेरै महिलाले आयआर्जनका लागि तरकारी खेती नै रोजेका छन् । अन्नपूर्ण गाउँपालिका घारकी ४२ वर्षीया जमुना बरुवालले आफू तरकारी खेतबाट नै आत्मनिर्भर भएको बताउनुभयो ।

व्यावसायिक तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च टार्न र बचत गर्न सकिएको उहाँको भनाइ छ । व्यावसायिक रुपमा तरकारी खेती गरेर त्यसबाट भएको आम्दानी गाउँको सहकारीका साथै सदरमुकाम बेनीका विभिन्न बैंकमा जम्मा गरेर बरुवालले पोखरा नजिक कास्कीको हेम्जामा घडेरीसमेत किनेको बताउनुभयो । “श्रीमान् वैदेशिक रोजगारीका लागि युएईमा हुनुहुन्छ, उहाँले पठाएको पैसा घरखर्च गर्न नपर्दा सबै बचत हुने गर्छ”, बरुवालले भन्नुभयो, “मैले यहाँ तरकारी बिक्री गरेको पैसा पनि बचत गर्ने गरेकी छु ।”

यसैगरी, बेनी नगरपालिका–२ खबराकी लक्ष्मी कार्कीले त व्यावसायिक रुपमा तरकारी खेती गरी त्यसबाट प्राप्त आम्दानीले घरखर्च टार्ने, छोराछोरी पढाउने मात्रै होइन, सदरमुकाम बेनीको मङ्गलाघाटमा घडेरी किनेर एकतले पक्की घरसमेत बनाइसक्नुभएको छ । एकाबिहानै डोकोमा तरकारी र हातमा दूधका क्यान बोकेर बेनीबजारका घर, होटल र पसल पसलमा आफँै बिक्री गर्दै आउनुभएकी कार्की जिल्लाकी सफल महिला कृषकसमेत हुनुहुन्छ ।

व्यावसायिक तरकारी खेतीबाट नै उहाँले करिब ५० लाखभन्दा बढीको सम्पत्ति जुटाइसक्नुभएको छ । लक्ष्मीका श्रीमान् चन्द्रबहादुर कार्की पनि व्यावसायिक तरकारी खेतीमा नै संलग्न हुनुहुन्छ । कार्की भन्नुहुन्छ, “मिहिनेत गर्न सक्ने र तरिका पु¥याउन जान्ने हो भने वार्षिक रु चार÷पाँच लाख कमाउन विदेशको खाडीमा जानै पर्दैन, आफ्नै खेतबारी, घर वरिपरिको करेसाबारी र गाउँठाउँमा नै लाखौँ रुपैयाँ कमाउन सकिन्छ ।”

करिब तीन वर्षयता पश्चिम म्याग्दीका महिला पनि व्यावसायिक तरकारी खेतीमा संलग्न हुन थालेका छन् । जिल्लाका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका विभिन्न वडाका करिब ३०० महिला व्यावसायिक तरकारी खेतीमा लागेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पश्चिम म्याग्दीको सिङ्गा, बाबियाचौर, अर्मन, बास्कुना, रणवाङ लगायतका ठाउँबाट लाखौँ रुपैयाँको तरकारी सदरमुकाम बेनीबजारमा भित्रिने गरेको छ । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट आयस्तर बढेसँगै महिला सशक्तीकरणमा समेत सघाउ पुगेको सरोकारवालाको भनाइ छ ।

समूह नै बनाएर व्यावसायिक तरकारी खेतीमा सक्रिय महिलालाई आवश्यक तालिम, मल, उन्नतजातका बीउलगायत प्राविधिक सहयोग गरिँदै आएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।

सो कार्यालयले जिल्लाका कृषकलाई अनुदानमा मलबीउ, कृषि औजार र प्रविधि उपलब्ध गराउन थालेपछि जिल्लामा व्यासायिक तरकारी उत्पादनतर्फ महिला र पुरुषको आकर्षण बढ्दै जान थालेको बेनी नगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *