चार महिनामै बाह्रसय पर्यटक

Post Date : May 16, 2016 | 4:38 pm

रत्ननगर (चितवन), ३ जेठ । दक्षिण चितवनको माडीस्थित शिवद्वारमा रहेको आदीवासी जनजातीको सामुदायिक होमस्टे (घरवास) मा सोचेभन्दा बढी पर्यटक भित्रिएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

सञ्चालन गरेको चार महिनामै एक हजार २०० भन्दा बढी पर्यटक होमस्टेमा आएपछि सञ्चालक उत्साहित भएका हुन् । सदरमुकाम भरतपुरदेखि ४५ किलोमिटर दक्षिणमा रहेको शिवद्वारमा मगर समुदायको सक्रियतामा होमस्टे सञ्चालन गरिएको हो । अयोध्यापुरी सामुदायिक होमस्टेद्वारा सञ्चालित उक्त होमस्टेमा आन्तरिक पर्यटकको चाप अत्यधिक रहेको समितिका अध्यक्ष मोहनबहादुर पुन मगरले जानकारी दिनुभयो ।

चार महिनाको अवधिमा रु १२ लाख आम्दानी गर्न सफल भएको मगरको भनाइ छ । “यति धेरै मान्छे छोटो समयमै आउँछन् जस्तो लागेको थिएन”, उहाँले भन्नुभयो । सुविधायुक्त र सस्तोमा सञ्चालन भएकाले होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँ गोष्ठी, सेमिनार र विभिन्न कार्यक्रम तथा समूहमा आउने भ्रमण टोलीको चाप अत्याधिक रहेको छ ।

यहाँको होमस्टे जिल्लाकै नमुना बनेको छ । सुरुमा जङ्गली जनावरले बालीनाली खाइ दिने तथा माछामा मन्द व्यापार भएको जग्गामा नयाँ सोच अनुसार यहाँ घरबास कार्यक्रम सुरु भएको हो । प्रचारप्रसार हुनसके होमस्टेमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवस्थापक तुलबहादुर मगर बताउनुहुन्छ ।

यहाँ आठजना मगर, दुईजना नेवार र एकजना दराईको गरी ११ वटा होमस्टे रहेका छन् । होमस्टेमा आउने पाहुनालाई आ –आफ्नै पोसाकमा सजिएर स्वागत गर्ने र मगरको मौलिक संस्कृति देखाउने गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे निर्माण गरिएको हो ।

स्थानीय समुदायको सक्रियतामा ताल कार्यक्रम, चितवन निकुञ्ज, स्थानीय मध्यवर्ती तथा अयोध्यापुरी मध्यवर्ती सहकारीको आर्थिक सहयोगमा होमस्टे निर्माण भएको हो । होमस्टेसँगै करिब रु १२ लाखको लागतमा सामुदायिक भवन समेत निर्माण गरिएको छ । होमस्टेमा ४४ जना बस्ने क्षमताको छ । माडी संरक्षित वन्यजन्तु बाघ, गैंँडा, भालु हात्ती, जरायोलगायत चराचुरुङ्गीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो भने विभिन्न धार्मिककुण्ड तथा क्षेत्रले प्रख्यात छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *