चिनियाँ लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीमा

Post Date : May 24, 2016 | 8:21 pm

कावासोती, ११ जेठ । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सन्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।

चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापना भएको हो । होङ्सी शिवम् सिमेन्ट उद्योगसम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा आज आयोजना गरेको अन्तरक्रियामा उद्योगका बारेमा जानकारी गराइएको थियो ।

यस वर्ष जग्गा व्यवस्थापनको काम थालिएको छ । दुईसय बिघा जग्गा आवश्यक पर्ने भएकाले यो वर्ष जग्गा व्यवस्थापनको काममा खटिएका छौँ, होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले भन्नुभयो–“बाटो र विद्युत्का बारे सरकारसँग कुरा भइरहेको छ ।”

“उद्योगलाई दैनिक ५० देखि ८० मेगावाट विद्युत् आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “हामीले जग्गाको व्यवस्थापनलाई स्थानीयवासीको समन्वयमा तीव्रता दिएका छौँ । एक सय बिघा प्राप्त भइसकेको छ, बाँकी खोज्दैछौँ ।”

तीन वर्षमा उत्पादन बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ । यो उद्योगमा होङ्सीको ७० प्रतिशत लगानी र शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको छ । दैनिक दुई हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीयवासी खुसी भएका छन् । नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले उद्योग स्थापनाले समृद्धिको आधार खोल्ने बताउनु भएको छ । पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिंकर) ल्याउने र यहाँ सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा ३० प्रतिशत आपूर्ति गर्छ ।

स्वदेशमै उत्पादन भइरहेको सिमेन्टले अहिले ७० प्रतिशत बजार ओगटेको छ बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूर्ति गर्छ, होङ्सी शिवम् सिमेन्टका प्राविधिक अटलले भन्नुभयो–“देशभित्रको बजारलाई पूर्ति गरेपछि बाहिर पनि पठाउन सकिन्छ ।” सुरुको वर्ष ६ हजार मेट्रिक टन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिक टन दैनिक सिमेन्ट उत्पादन हुने उहाँले बताउनुभयो । ओपिसी र पिपिसी दुवै सिमेन्ट यहाँ उत्पादन हुन्छ ।

सिमेन्ट उद्योगले गाउँको अनुहार नै फेरिने भएको स्थानीयवासी घनश्याम गिरीले बताउनुभयो । नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले ठूला परियोजनालाई सरकार र स्थानीयवासीको सहयोग हुने भएकाले ढुक्क भएर कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो । क्षेत्र नं ४ का सांसद बैजनाथ चौधरीले समृद्धिको आधार उद्योग कलकारखाना भएकाले सरकारले लगानीको वातावरण बनाउने काम गरेको बताउनुभयो । यो सरकार लगानीको वातावरण बनाउँछ, उद्योगी काममा लाग्नुपर्छ सांसद चौधरीले भन्नुभयो ।

लगानी बोर्डका सहसचिव रवि भट्टराईले उद्योगको स्थापनाबाट हुने फाइदाका बारेमा बताउनुभएको थियो । “लगानी बोर्डको काम उद्योगपतिको समस्या समाधान गर्ने र लगानी भित्र्याउने हो त्यसमा प्रधानमन्त्रीको निर्देशन पनि छ, हामी काममै लागेका छौँ”, उहाँले भन्नुभयो –“जिल्लाका जनप्रतिनिधि र स्थानीयवासीको सकारात्मक भावनाले हामीलाई उत्साहित बनाएको छ ।” (विद्रोही गिरी/पुरुषोत्तम सुवेदी) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *