चीनलाई जर्मनीको प्राविधिक व्यवसाय एक्सट्रन बिक्री रोक्ने अमेरिकी प्रयास

Post Date : December 4, 2016 | 1:37 pm

वासिङटन, १८ मङ्सिर । चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गर्नुभएको छ ।

अमेरिकामा विदेशी लगानी समितिको अध्यक्षता राष्ट्रपति ओबामाले गर्नुभएको छ र त्यसको पुनरावलोकनमा सैनिक उपयोगको सम्भावना भएको संवेदनशील प्रविधि चिनियाँ हातमा पर्नसक्ने सम्भावना भएकाले यस समझौताले दिने जोखिम निकै ठूलो भएको देखिएको अमेरिकी अर्थ मन्त्रालयले जानएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अमेरिकी विदेशी लगानी समिति तथा राष्ट्रपतिले उक्त कारोवारले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम दिएको र त्यसलाई न्यूनीकरणको माध्यमबाट समाधान गर्न नसकिने मूल्याङ्कन गर्नुभएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एलईडी बत्ती, लेजर तथा सौर्य ब्याट्रीमा उपयोग हुने उच्च क्षमताको अर्धसुचालक यौगिक बनाउन एक्सट्रन एसईको प्राविधिक विशेषज्ञता रहेको त्यसको सैनिक उपयोग रहेको उल्लेख गरिएको छ ।

चिनियाँ सरकारको सहयोग रहेको चिनियाँ कम्पनी ग्यान्ड चिप इन्भेस्टमेन्टले एक्सट्रन खरिद गर्न चाहेको र वासिङ्टनले त्यस्तो प्रविधि चिनियाँ हातमा नपरोस् भनी चाहेको बताइएको छ ।

अर्थ मन्त्रालयले एक्सट्रनको अमेरिकी व्यवसायले उक्त प्रविधिमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेको छ ।

वासिङ्टनले सुरक्षाको चिन्ता व्यक्त गरेपछि अक्टोबर महिनामा जर्मन सरकारले ६७ करोड युरो बराबरको उक्त कारोबारको प्रारम्भिक स्वीकृति फिर्ता लिएको थियो ।

जर्मनीको गुप्तचर स्रोतलाई उद्धरण गरी ह्यान्डल्सब्लाट दैनिकले चीनले एक्सट्रनको प्रविधि आफ्नो पारमाणविक कार्यक्रलाई सुदृढ बनाउन उपयोग गर्नसक्ने भनि अमेरिकाले चिन्ता व्यक्त गरेको समाचार प्रकाशन गरेको छ ।

उक्त सूचना प्राप्त गरेको जर्मनीको अर्थ मन्त्रालयले अक्टोबर २४ मा यस सम्झौतामा पुनरावलोकन गरिने जानकारी दिएको थियो ।

ग्रान्ड चिप नामक जर्मन कम्पनीले यस कारोबारमा लगानी गर्न चाहेको र त्यसको स्वामित्व चीनका लगानीकर्ताको भएको र त्यसमा पनि चिनियाँ सरकारको स्वामित्व भएको अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

मन्त्रालयले यस सम्झौतामा चाइना आईसी इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डले लगानी गरेको र यो चीन सरकारको सहयोग रहेको र मुलुकको इन्टिग्रेटेड सर्किट उद्योगलाई सहयोग गर्न स्थापित लगानी कोष भएको उल्लेख गरेको छ ।

एक्सट्रनले सुचालक तहमा अणुको पातलो तह राख्ने प्रविधिमा विशेषज्ञता हासिल गरेको छ र यो विद्युत उत्पादन, नियन्त्रण तथा परिवर्तन गर्ने विद्युतीय सामग्रीमा उपयोग गरिन्छ । यो प्रविधि सोलार ब्याट्री तयार गर्न उपयोग हुन्छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले एएफपीको प्रश्नमा टिप्पणी गर्दै यस्तो हस्तक्षेप नगर्न चेतावनी दिनुभयो ।

उहाँले यस्तो खरिद कार्य सामान्य व्यापारिक क्रियाकलाप भएको बताउनुभयो ।

उहाँले यो सामान्य व्यापारिक खरिद भएको र यसमा सामान्य सिद्धान्त तथा बजारका नियम लागू हुने बताउनुभयो । उहाँले यस खरिदमा अधिक राजनीतिक हस्तक्षेप नहुने आफूहरूले आसा गरेको बताउनुभयो ।

यस विषयमा एक्सट्रन वा ग्रान्ड चिपका तर्फबाट कुनै टिप्पणी आएको छैन । अमेरिकीमा विदेशी लगानी समितिले अमेरिकी कम्पनीमा विदेशी लगानीमा पुनरावलोकन गर्ने गरेको छ र यसले हालका वर्षमा चिनियाँ खरिदमा स्वीकृति तथा अस्वीकृति दुवै दिएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *