‘चुनाखानीबाट बस्ती जोखिममा’, बस्ती स्थानान्तरणको माग

Post Date : November 9, 2016 | 5:00 pm

रत्ननगर (चितवन), २४ कात्तिक । पूर्वी चितवनको शक्तिखोरस्थित विकट गाउँ कोलारमा सञ्चालन गरिएको चुनाखानीबाट बस्ती नै जोखिममा परेको भन्दै विकल्पको माग गरेका छन् ।

जिल्ला विकास समिति चितवनले प्रशासन कार्यालय, महिला सघन विकास केन्द्र र भ्रष्टाचार विरुद्ध अभियान चितवनको सहकार्यमा चितवनको शक्तिखोरमा आयोजना गरेको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयले चुनाखानीको विषयमा गम्भीर हुन अनुरोध गरेका हुन् ।

स्थानीय चेपाङ समुदाय बसोबास गर्दै आएको सो कोलार गाउँमा गएको पुसदेखि चुनाखानी दोस्रो पटक सञ्चालनमा आएको थियो ।

चुनाखानीका कारण बस्ती जोखिममा परेको भन्दै स्थानीय राममायाँ चेपाङले बस्ती नै स्थानान्तरणको माग गर्नुभयो । घर नै जोखिममा परेकाले अहिले सो क्षेत्रमा स्थानीयले एक हप्तादेखि चुना उत्खनन गर्ने मेसिन सञ्चालनमा रोक लगाएको समेत उहाँले बताउनुभयो । सो चुनाखानी क्षेत्रमा ४२ घर रहेका छन् ।

सार्वजनिक सुनुवाइका क्रममा बोल्दै अर्की महिला गङ्गा गुरुङले चुनाखानीले खानेपानीको पाइप समेत पुरेर पानी खान समेत नपाएको गुनासो गुर्नभयो । चुना उत्खनन गर्दा निस्किएको माटोले वर्षात्का बेलामा बाढी पहिरो समेत बढेर समस्या हुने गरेको उनको भनाइ थियो ।

स्थानीय राजकृष्ण चेपाङ भन्नुहुन्छ, “चुनाखानीले बाटो फराकिलो पार्दा, रुखबिरुवा नासिएको छ, रोपेको बिरुवा समेत मरेका छन्, बाढी पहिरोले घर बस्ती नै जोखिममा पारेको छ ।”

केही समय चलेर दुई वर्ष बन्द भएको चुनाखानी गएको वर्ष पुसमा स्टारलाइम इन्जिनियरिङ प्रालिले रु पाँच करोड लगानी थपेर पुनःसञ्चालन गरेको थियो । कम्पनीले भने वातावरण प्रभाव मूल्याङ्कन गरेरै खानी बनाइएको दाबी गर्दै आएको छ ।

चुना बोक्ने गाडीले धुलो उडाउनाले स्वास्थ्यमा समेत असर परेको भन्दै स्थानीयवासी चुनाखानी सञ्चालन गर्न दिने पक्षमा छैनन् । ऐतिहासिक किल्ला उपरदाङगढी संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिले समेत चुनाखानीको विरोध गर्दै आएको छ ।

सार्वजनिक सुनुवाइमा स्थानीयको गुनासो सुनेपछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जनतालाई दुःख हुन्छ भने चुनाखानी बन्द हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेले यस्ता समस्या भने लिखित रुपमा ल्याउन समेत स्थानीयलाई आग्रह गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *