छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन

Post Date : March 16, 2017 | 3:08 pm

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताउनुभयो ।

नेपालमा लगानी गर्न कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उहाँले आग्रह गर्नुभयो । सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी चैत ७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री दाहालले लगानी गर्न उचित वातावरण तयार पार्ने बताउनुभयो ।

काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको मेला÷महोत्सव आयोजनाका लागि एक अत्याधुनिक भवन निर्माण गर्न आज बस्ने मन्त्री परिषद्को बैठकले नीतिगत निर्णय गर्ने उहाँले बताउनुभयो । राजनीतिक मुद्दा क्रमशः कार्यान्वयनको दिशामा उन्मुख भएकाले दिगो आर्थिक विकास हासिल गर्न निजी क्षेत्रसँग दृढतापूर्वक काम गर्न सरकार कटिवद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । महोत्सवमा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड र भुटानको सहभागिता रहेको छ । महोत्सवमा ३०४ कक्ष समावेश छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले व्यापार मेला क्रेता, विक्रेता र सिर्जनाकारको जमघटथलो बन्ने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष भवानी राणाले सुरक्षासहितको लगानी मैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानका लगानीकर्ता, उद्योगी एवम् व्यापारी, विभिन्न देशका राजदूत, एवम् सरकारका उच्च पदस्थ व्यक्तिको सहभागिता थियो । महोत्सवमा खाद्यान्न तथा लत्ताकपडा, जडीबुटी, हस्तकला एवम् हिमाली क्षेत्रका उत्पादनको कक्ष समावेश छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *