जनता बैंक र त्रिवेणी विकास बैंक गाभिने

Post Date : November 9, 2016 | 11:10 am

काठमाडौँ, २४ कात्तिक । जनता बैंक नेपाल लिमिटेड र त्रिवेणी विकास बैंक लिमिटेड एक आपसमा गाभिने भएका छन् । गाभिने सम्बन्धी सम्झौता पत्रमा जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठ र त्रिवेणी विकास बैंकका अध्यक्ष लङ्क बहादुर के.सी.ले हस्ताक्षर गर्नु भएको छ । हाल जनता बैंकको चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैया र त्रिवेणी विकास बैंकको चुक्ता पूँजी ८२ करोड १५ हजार रुपैया रहेको छ । जनता बैंकले हाल चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ अर्ब ३ करोड रुपैया बराबरको हकप्रद शेयरको बिक्री खुल्ला गरिसकेको छ । यही आउँदो पुष ५ गतेसम्म बिक्री खुल्ला रहने हकप्रद शेयर बिक्रीपश्चात बैंकको चुक्ता पूाजी ३ अर्ब ९ करोड रुपैया पुग्नेछ ।

त्यस्तै त्रिवेणी विकास बैंकले पनि ५० प्रतिशत हकप्रद शेयर जारी गरेको छ । दुवै बैंकको हकप्रद शेयर निष्काशन र बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैया पुग्ने जनाइएको छ ।

दुवै बैंक एकआपसमा गाभिएपछि शाखा संख्या ६५ पुग्नेछ भने निक्षेप संकलन ३५ अर्ब रुपैया र कर्जा प्रवाह ३२ अर्ब रुपैया पुग्नेछ ।

मर्जरको निर्णयपछि शेयर कारोवार रोक्का हुनुअघि (कार्तिक ११ गते) जनता बैंकको ३ सय ८७ रुपैयामा अन्तिम मूल्यमा र त्रिवेणी विकास बैंकको ३ सय ४६ रुपैयामा अन्तिम मूल्यामा शेयर खरिद/बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *