जुम्लामा रु छ करोड ५९ लाख राजस्व संकलन

Post Date : August 3, 2017 | 9:38 am

जुम्ला, १९ साउन । करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३/०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ ।

संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिनुभयो ।

त्यसैगरी, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करतर्फ रु एक करोड २४ लाख ८८ हजार र पारिश्रमिक करतर्फ रु एक करोड १४ लाख १९ हजार राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो ।

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ रु एक करोड आठ लाख ८३ हजार राजस्व संकलन भएको उहाँको भनाइ छ । उहाँका अनुसार बहालकर रु ३० लाख ५४ हजार, मदिराबाट रु २७ लाख ३७ हजार र सुर्तीजन्य चीजबाट २४ हजार राजस्व संकलन भएको छ ।

यता ब्याज करबाट रु १५ लाख ८१ हजार, पूँजीगत लाभ करअन्तर्गत रु नौ लाख २० हजार र शिक्षा सेवा शुल्कबापत रु दुई लाख आठ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख यादवले अवगत गराउनुभयो ।

घरबहाल करमा भने बढी कर छली भएको उहाँको भनाइ छ । विभागले रु छ करोड ८२ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएपनि त्यो भेट्न सकिएन, तर पनि गत आव ०७२/०७३ को भन्दा १५.७५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ, उहाँले भन्नुभयो ।

आव ०७२/०७३ मा करदाता सेवा कार्यालय जुम्लाले रु पाँच करोड ४२ लाख राजस्व संकलन गरेको थियो । बजारमा सामान किनबेच गर्दा बिल लिनेदिने संस्कार नबसेकाले त्यसबाट पनि राजस्व धेरै छली भएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *