जैविक प्रविधिमा नेपालको सफलताः अब प्लास्टिकबाटै तेल

Post Date : June 11, 2016 | 9:05 pm

काठमाडौँ, २९ जेठ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।

प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो ।

नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो ।

प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताउनुभयो । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ ।

एक किलो प्लास्टिक, एक लि तेल

वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ । अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

नयाँ ढाँचाका सवारी साधनका लागि भने केही मिश्रण गर्नुपर्ने हुन्छ । जापान सहित एसिया र युरोपका ४५ देशमा प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रयोगमा छन् । भारत, चीन र जापानले यस्ता प्रविधिका उपकरण बिक्री गर्दैआएका छन् ।

नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ । करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ । यन्त्र आएपछि अनुसन्धानसँगै तेल उत्पादनको काम सुरु गरिने वैज्ञानिक ढकालले बताउनुभयो ।

नास्टले तीन महिनाको अनुसन्धान र परीक्षण अवधिमा १५ लि पेट्रोलियम पदार्थ उत्पादन गरेको जानकारी दिँदै ढकालले सो प्रविधिबाट वातावरण प्रदूषण नियन्त्रण र बढ्दो इन्धनको अभावलाई पूर्ति हुने बताउनुभयो ।

नास्टले भूकम्प प्रभावित जिल्लामा पाल लगायत सामग्रीमा बढी प्लास्टिकजन्य पदार्थ हुने भएकाले ती क्षेत्रलाई प्राथमिकता दिएर तेल उत्पादन गरिने जनाएको छ । पुनःनिर्माणका क्रममा प्लास्टिक त्यत्तिकै खेर जाने र फोहर बढ्ने भएकाले त्यसको सदुपयोगसँगै तेल उत्पादन गर्नका लागि भूकम्प प्रभावित जिल्ला नै रोजाइमा परेको वैज्ञानिक ढकालले बताउनुभयो ।

तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत

एसियाली विकास बैंँकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ । त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ ।

सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुन्छ ।

नेपाल आयल निगमको तथ्याङ्क अनुसार वार्षिक १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । भविष्यमा सो प्रविधिलाई नागरपालिकासँग साझेदारी गरेर अघि बढ्ने नास्टको योजना छ । यसमा प्रयोग भइसकेका र खेरगइरहेका प्लास्टिकलाई प्रयोग गर्न सकिन्छ, नयाँ प्लास्टिक चाहिँदैन ।

नास्टले अहिले भित्र्याएको यन्त्रबाट एक पटकमा एक घन्टाका अवधिमा १० केजी प्लास्टिक पेलेर १० लि तेल निकाल्न सकिन्छ । सो प्रविधिको अनुसन्धान प्रवद्र्धनमा ढकाल सहित नास्टका पाँच वैज्ञानिक लागिपरेका छन् ।

प्रा डा जीवराज पोखरेलले खेर गएको प्लास्टिकलाई तेलमा बदल्ने प्रविधि आविष्कार गर्न नास्टले वैज्ञानिक सफलता पाउनु देश विकासको सङ्केत हो भन्दै यो प्रविधिलाई थप अनुसन्धान र प्रवद्र्धन गर्ने योजना सुनाउनुभयो ।

जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधिलाई नेपालमा प्रवद्र्धन गर्न अभियानै चलाएको थियो । पहिलो चरणमा एक महिना जापानबाट ल्याइएको यन्त्र जडानयुक्त ट्रक देशका विभिन्न स्थानमा लगेर प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रदर्शन गरिएको थियो ।

एक वर्षअघि नास्टले इको पार्टीसँग उक्त प्रविधि भित्र्याउनेबारे द्विपक्षीय सम्झौता गरेको थियो । त्यसअनुरुप जापानको प्राविधिक तथा भौतिक सहयोगमा नेपालमा यसको पहिलो चरणको प्रचारात्मक अभियान सकिएको छ । (सिबी अधिकारी) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *