जोमसोममा हावाबाट विद्युत् उत्पादन

Post Date : June 18, 2016 | 9:06 am

मुस्ताङ, ४ असार । जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ ।

बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिनुभयो ।

मुस्ताङमा दिउँसोको समयमा बढी हावा बहने भएकाले अन्य समयका लागि व्याकअपको रुपमा सौर्य प्रणाली पनि जडान गरिएको छ । “अहिले हामीले परीक्षणका रुपमा उत्पादन गरिरहेका छौँ, ठूलो साइजको मेसिन ल्याएर व्यावसायिक उत्पादन गर्ने योजना छ,” कम्पनीका निर्देशक तिमिल्सिनाले भन्नुभयो – “एक महिनापछि हामीले यो परियोजनाको उद्घाटन नै गर्नेछाैँ ।”

एक अध्ययनअनुसार जिल्लाको मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा र कोबाङ गाविसमा तीव्र गतिमा हावा चल्ने भएकाले त्यसबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ । सोहीअनुसार, कुन बेला हावाको गति कति आउँछ भन्ने कुराको अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

उत्पादन भएको विद्युत् तत्काललाई तीन घरमा जडान गरिएको छ । यसअघि मुस्ताङकै कागबेनीमा हावाबाट बिजुली उत्पादन गरिए पनि कमजोर व्यवस्थापनका कारण छ महिनामै जीर्ण बनेको थियो । रासस

One thought on “जोमसोममा हावाबाट विद्युत् उत्पादन

Leave a Reply

Your email address will not be published. Required fields are marked *