झापामा ‘सुपरजोन’ कार्यक्रम सञ्चालन

Post Date : June 13, 2017 | 3:33 pm

सुरुङ्गा (झापा), ३० जेठ । समुदायमा आधारित धान सुपरजोन कृषि आधुनिकीकरण परियोजना यस वर्षबाट जिल्लामा सञ्चालन भएको छ ।

जिल्लाको पूर्वी क्षेत्रमा धान सुपरजोन परियोजना सञ्चालन गरिएको हो । पृथ्वीनगर, बनियानी, पाठामारी, केचना, पथरिया र बालुबाडीमा सञ्चालित परियोजनाबाट धानको ३.१५ उत्पादकत्व वृद्धि गरी ५.५ मेट्रिक टन प्रतिहेक्टर पुरयाउने लक्ष्य छ । सरकारले परियोजना सञ्चालनका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

परियोजना सञ्चालनसँगै कृषकलाई ८० प्रतिशतसम्म अनुदान र उन्नत जातको धानको बीउ उपलब्ध गराएसँगै धानको उत्पादन बढेको हो । यहाँका कृषकले अहिले हर्दिनाथ, डल्लेपुसा, चाइनापुसालगायत स्थानीय जातका धान लगाएका छन् । कृषकले नेपाल कृषि अनुसन्धान केन्द्र तरहराबाट सिफारिस गरिएका चैते–२, चैते–४ र केन्द्रमा परीक्षण भएको तेहरान र अन्य जातका धान लगाएकाले उत्पादन बढेको धान सुपरजोन कार्यान्वयन एकाइ बनियानीका प्रमुख मेघनाथ तिमल्सिनाले बताउनुभयो ।

जिल्लामा रु १० अर्ब दुई करोड बराबरको धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष ८६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा चार लाख ११ हजार १०० मेट्रिक टन धान उत्पादन भएको थियो । खेतीयोग्य जमिनमध्ये ३८ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार यस वर्ष २० हजार ३०० हेक्टरमा चैतेधान लगाइएको छ । गत वर्ष जिल्लामा १९ हजार ७०० हेक्टरमा चैतेधानखेती गरिएको थियो । यस वर्ष ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैतेधान लगाइएको छ । कनकाइ सिँचाइ प्रणालीअन्तर्गत शिवशताक्षी, शिवगञ्ज, महाभारा, बैगुनधुरा, धरमपुर र तोपगाछीका अधिकांश कृषकले चैतेधानखेती गर्ने गरेका छन् ।

त्यस्तै अर्जुनधारा, बुधबारे, मेचीनगर, केचना पथरिया कुमरखोद, बनियानी, सुरुङ्गा, टाघनडुब्बालगायत ठाउँमा समेत चैतेधानखेती गरिन्छ । बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन तथा लाइनमा धान रोपेका कारण उत्पादकत्व बढेको डाँगीको भनाइ छ ।

लाइनमा धान रोप्ने कृषकलाई कृषि कार्यालयले प्रतिहेक्टर रु पाँच हजारका दरले प्रोत्साहनस्वरुप रकम प्रदान गरेको छ । गोडमेल गर्न सजिलो र उत्पादन बढ्ने भएकाले कृषकलाई लाइनमा धान रोप्न आग्रह गरेको डाँगीले बताउनुभयो । लाइनमा धान रोप्ने कोहोवरा, जलथल र धरमपुरका कृषकले प्रोत्साहन रकम पाएका छन् । सरकारले चैतेधानको मूल्य प्रतिकिलो २१ रुपैयाँ २० पैसा तोकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *