टेलिफोन सेवा १०० वर्ष पुगेको अपलक्ष्यमा नेपाल टेलिकमले सञ्चारकर्मीलाई सम्मान गर्ने

Post Date : August 9, 2017 | 5:38 pm

काठमाडौँ, २५ साउन । सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले कम्पनीको सेवा, सुविधा सम्बन्धमा आमसञ्चार माध्यममा २०७३ सालमा प्रकाशित/प्रसारित समाचार सामग्रीमध्ये उत्कृष्ट दुईवटा सामग्री छनोट गरी दुई जना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रमअनुसार छनोट हुने सञ्चारकर्मीहरुको नाम घोषणा गरिएको कुरा टेलिकमद्वारा प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

यस अनुसार टेलिकमको फोर-जी सुरु शीर्षकको समाचार लेख्ने नागरिक दैनिकका सञ्चारकर्मीद्वय श्री सन्तोष न्यौपाने (काठमाडौ) र श्री सन्तोष पोखरेल (पोखरा) लाई (संयुक्तरुपमा लेखिएको समाचारका लागि) संयुक्त रुपमा र नेपालमा ‘फोरजी’ सेवा सुरु शीर्षकको समाचार लेख्ने गोरखापत्र दैनिकका सञ्चारकर्मी श्री विश्वास रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको पनि उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ । उहाँहरुलाई विशेष कार्यक्रमको आयोजना गरी निकट भविष्यमा नै सम्मान गरिने जनाएको छ ।

कम्पनीले नेपालका आमसञ्चार माध्यममा नेपाल टेलिकमको सेवा, सुविधा सम्बन्धमा उत्कृष्ट सामग्री प्रकाशन/प्रसारण गर्ने दुई जना आमसञ्चारकर्मीलाई छनोट गरी पुरस्कृत गरेर सम्मानित गर्ने प्रयोजनका लागि मिति २०७४।०१।२१ मा नेपाल पत्रकार महासंघको समेत प्रतिनिधित्व रहने गरी मूल्याङकन समिति गठन गरेको थियो । उक्त समितिले २०७४।०१।२२ गते सूचना प्रकाशित गरी सो सम्बन्धी सामग्री पठाउन आह्वान गरेको थियो ।

सो अनुसार समितिले प्राप्त सामग्रीहरुको तथ्यपरकता, सन्तुलन, विश्वसनीयता, विषयवस्तुको सान्दर्भिकता, भाषा आदिको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट समाचार सामग्री छनोट गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *