तरकारीबाट बाह्रै महिना आम्दानी

Post Date : September 1, 2016 | 4:21 pm

पाल्पा, १६ भदौ । परम्परागत खेती गर्न छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेपछि यहाँका युवाले मनग्य आम्दानी लिन थालेका छन् ।

मुझुङ गाविसका ४० देखि ५० घरपरिबार मकै, भटमास, कोदो, फापर खेती गर्न छाडेर व्यावसायिक रुपमा तरकारी खेती गरी आम्दानी गर्न सफल भएका छन् । वर्षमा मकै र जौ, गहुँ गरी दुई खेती गर्नेले अहिले बारीमा तीन चार पटकसम्म तरकारी उत्पादन गर्न सफल भएका छन् ।

परम्परागत खेती गर्ने घटे पनि व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशबाट फर्केका, प्रहरी, सेना, शिक्षक तथा निजामती सेवाबाट अवकाश पाएका व्यक्ति तरकारी खेतीमा संलग्न छन् ।

किसानले बारीमा सिमी, बोडी काउली, गोलभेँडा, खुर्सानी, बन्दागोभी लगायतका मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक रु ५० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गर्दैआएका छन् । मुझुङ गाविस–७ का हुमबहादुर कार्कीले तरकारी बेचेर वार्षिक रु पाँचदेखि रु सात लाखसम्म आम्दानी गरिरहनुभएको छ । मकैमात्र फल्ने बारीमा अहिले उहाँले बाह्रै महिना तरकारी खेतीबाट आम्दानी गर्न सफल हुनुभएको छ ।

तीन चार महिना पनि खान नपुग्ने बारीमा अहिले तरकारी खेतीबाट रु एक लाखदेखि रु दुई लाखसम्म किसानले आम्दानी गर्दैआएका छन् । उत्पादित तरकारी सदरमुकाम तानसेन, बुटबल र स्थानीय बजारमा खपत हुने गरेको छ । किसान तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी विदेशबाट फर्केका युवा व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *