तिजी पर्वमा अहिलेसम्मकै उच्च विदेशी पर्यटक सहभागी

Post Date : June 7, 2016 | 3:10 pm

मुस्ताङ, २५ जेठ । उपल्लो मुस्ताङको सांस्कृतिक पर्व तिजीमा रमाउन अहिलेसम्मकै उच्च विदेशी पर्यटक पुगेको देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले वैशाख २१, २२ र २३ गते सञ्चालन भएको तिजी पर्वको अवसरमा ४४१ विदेशी पर्यटक लोमान्थाङ भित्रिएको जनाएको छ ।

विनाशकारी भूकम्पका कारण गतवर्षको तिजीमा विदेशी पर्यटकको सङ्ख्या शून्य थियो । हरेक वर्ष उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणले मनाउने तिजी पर्वमा पूजापाठदेखि सांस्कृतिक नृत्य सञ्चालन हुने गर्दछ ।

सोही सांस्कृतिक नृत्यमा रमाउन विदेशी पर्यटक तिजीमा आउने गरेको एक्याप लोमान्थाङका प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो ।

“तीन दिनमा चारसय ४१ विदेशी पर्यटक आउनु भनेको पर्यटकीय दृष्टिकोणले धेरै राम्रो हो, यो अहिलेसम्मकै उच्च सङ्ख्या हो,” उहाँले भन्नुभयो – “यसभन्दा अघिका तिजीमा यसरी विदेशी पर्यटक आएका थिएनन् ।” पर्यटकको चाप बढेसँगै लोमान्थाङ क्षेत्रमा सञ्चालित साना तथा ठूला होटल पनि व्यस्त बनेका थिए ।

अघोषित नाकाबन्दी र विनाशकारी भूकम्पपछि पहिलो पटक पर्यटकको चाप बढेपछि यहाँका व्यवसायी उत्साहित बनेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

पन्ध्रौँ शताब्दीदेखि उपल्लो मुस्ताङका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको तिजीमा आपसी स्नेह साटासाट, विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामना गरिन्छ । विदेशी पर्यटकलाई स्थानीय पहिरनमा सजाएर नाचगान गराउने भएकाले उनीहरु उत्साहित हुने लोमान्थाङका फुर्वा गुरुङले जानकारी दिनुभयो ।

“यो पर्वमा हामीले विदेशी पर्यटकलाई सम्मान दिनुका साथै हाम्रो नृत्यमा समावेश गराउँछौँ,” उहाँले भन्नुभयो । यो पर्व मनाउन अमेरिका र अष्ट्रेलियाका पर्यटक बढी आउने एक्यापले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *