तेह्र जलविद्युत् आयोजनाका साधारण सेयर आउँदै

Post Date : June 27, 2017 | 4:53 pm

काठमाडौँ, १३ असार । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ ।

विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् ।

बैंक तथा वित्तीय संस्थाले मात्रै नभई पुँजी बजारमार्फत पुँजी बढाउन जलविद्युत् आयोजनाबाट साधारण सेयर जारी गर्न पाऊँ भन्दै आवेदन दिनेको सङ्ख्यामा समेत बढोत्तरी भएको बोर्डले जनाएको छ ।

जलविद्युत् कम्पनी, आयोजना प्रभावित स्थानीयवासी र आमनागरिकलाई सेयर निष्कासनका लागि निवेदन दिन आह्वान गरिएको बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले जानकारी दिनुभयो ।

सरकारले कानुन संशोधन गरी जलविद्युत् आयोजनामा १० प्रतिशत साधारण सेयर आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्य रुपमा प्रदान गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेकाले सम्बद्ध आयोजना त्यसतर्फ आकर्षित भएका हुन् ।

बोर्डमा निवेदन दिएकामध्ये चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले सीमित साधारण सेयर जारी गर्न लागेको छ ।

आयोजनामा लगानी गर्ने वित्तीय संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीलाई रु ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरिएको छ । सो कम्पनीले गत वैशाख १२ गते निवेदन दिएको हो ।

यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारी, सञ्चयकर्तालाई रु एक अर्ब ६४ करोड २१ लाख बराबरको एक करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । रसुवागढीले गत वैशाख १३ गते बोर्डमा निवेदन दिएको हो ।

सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड पनि रहेको छ । सो आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु आठ करोड बराबरको आठ लाख कित्ता सेयर निष्कासनका लागि गत जेठ ३१ गते निवेदन दिएको हो ।

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई प्रदान गर्ने भएको छ ।

बोर्डकाअनुसार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीयवासीलाई रु तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ ।

शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु दुई करोड बराबरको दुई लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ ।

उता बुटबल पावर कम्पनीले भने साधारण सेयर नै जारी नगरी फरदर पब्लिक अफर (एफपिओ) जारी गर्न लागेको छ । सो कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएको छ ।

साधारण सेयर नै जारी नगरीकन एफपिओ जारी गर्न दिने कि नदिने भन्ने बारेमा बोर्डले अध्ययन गरिरहेको उपनिर्देशक घिमिरेले बताउनुभयो ।

त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासीका लागि रु ११ करोड बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

त्यस्तै राधी विद्युत् कम्पनीले पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ । सो कम्पनीले रु सात करोड ६४ लाख ५५ हजारको साधारण सेयर निष्कासन गर्न लागेको छ ।

लङ्घिङ बुद्धपावर कम्पनीले पनि स्थानीयवासीका लागि रु नौ करोड ७८ लाख बराबरको साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

युनिक हाइडेल कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि रु पाँच करोड ५५ लाख बराबरको सेयर निष्कासन गर्न लागेको छ ।

उता पञ्चकन्या जलविद्युत् कम्पनीले स्थानीयवासीलाई ११ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ भने नेपाल हाइड्रो डेभलपरले तीन लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने तयारीसहित बोर्डमा निवेदन दिएको छ ।

बोर्डमा दिइएको निवेदनका आधारमा साधारण सेयर जारी गर्ने अवधि भएको छ कि छैन वा कागजी प्रक्रिया पूरा भएको छ वा छैन भन्ने आधारमा निर्णय गरिने उपनिर्देशक घिमिरे बताउनुहुन्छ ।

उता स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं लगानीका लागि उपयुक्त क्षेत्रका रुपमा जलविद्युत् आयोजना देखिएकाले सङ्ख्यामा समेत वृद्धि भएको जानकारी दिनुभयो ।

अध्यक्ष गुरागाईंकै कम्पनी न्यादी पावरले पहिलो चरणमा लमजुङको मस्र्याङ्दी गाउँपालिकालाई रु पाँच करोड बराबरको र लमजुङ जिल्लालाई रु १४ करोड ७० लाख बराबरको साधारण सेयर दिने तयारी गरेको छ । सोही आयोजनाले निकट भविष्यमा नै आमनागरिकका लागिसमेत रु ६३ करोड बराबरको साधारण सेयर जारी गर्नेछ । (रमेश लम्साल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *