थाइ नरेशद्वारा नयाँ संविधान अनुमोदन

Post Date : April 6, 2017 | 6:15 pm

बैंकक, २४ चैत । थाइल्यान्डका नरेश माहा बजिरालोङकोर्न बोदिन्द्रदेबायाभाराङकुनले बिहीबार आयोजित विषेश समारोहमा नयाँ संविधानमा हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर गरेर अनुमोदन गरेको संविधान उहाँले प्रधानमन्त्री प्रयुत चान ओचालाई सोही समारोहमा हस्तान्तरण गर्नुभएको थियो ।

हस्ताक्षर समारोहमा उच्चपदस्त सरकारी अधिकारीहरु, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत सहभागी थिए ।

नयाँ संविधानले थाइल्यान्डलाई राष्ट्रिय स्थिरता, एकता र समृद्धितर्फ लैजाने थाई नरेश बजिरालोङकोर्नले विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँ ६४ वर्षको उमेरमा केही महिनाअघि मात्रै थाइल्यान्डको राजा बन्नुभएको हो ।

उहाँका पिता, लोकप्रिय राजा ८८ वर्षीय नरेश भूमिबल अदुल्यादेजको असोज २७ गते निधन भएपछि उहाँले गद्दी सम्हाल्नुभएको हो । उहाँ झन्डै ७० बर्ष राजा बन्नुभएको थियो ।

महा वजिरालोङ्गकर्नलाई ’राम दशौँ’को उपाधि दिइएको छ । उहाँ चक्री वंशका १०औँ नरेश भएकाले उहाँलाई राम दशौँको उपाधि दिइएको हो । थाइल्यान्डको राजसंस्था विश्वका सम्पन्न राजसंस्थामध्येको एक मानिन्छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *