दशैँमा ३७ हजार सम्मको नया नोट साट्न पाइने

Post Date : September 5, 2016 | 1:26 pm

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले आउँदो दशैँका लागि असोज १६ गतेबाट सर्वसाधारणलाई नया नोट वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागबाट र उपत्यका बाहिरका विराटनगर, जनकपुर, बीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि असोज १६ गतेदेखि २१ गतेसम्म नया नोट वितरण गर्नेछ ।

यसपालीको दशैँ असोज १५ गतेदेखि सुरु हुँदैछ । सो दिन घटस्थापनापछि दशैँको सुरुवात हुन्छ । यस्तै २२ असोजदेखि दशैँका लागि सबै कार्यालयहरू बन्द हुनेछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असोज ९ गतेदेखि असोज १४ गतेसम्म नया नोट वितरण गर्ने र बैंक तथा वित्तीय संस्थाले पनि १६ गतेबाटै सर्वसाधारणलाई नया नोट वितरण गर्नेछन् ।

यस वर्ष दशैँमा प्रतिव्यक्ति ३७ हजार रुपैयासम्म सर्वसाधारणले नया नोट सटही सुविधा दिएको छ । अघिल्लो वर्षको दशैँमा यस्तो सुविधा २२ हजार रुपैयासम्म सर्वसाधारणले पाएका थिए ।

यसपालीको दशैँमा सर्वसाधारणले राष्ट्र बैंकबाट ५, १०, २०, ५० र १०० रुपैया दरका २/२ बन्डल नोट सटही गर्न पाउनेछन् । यो सबै गरेर ३७ हजार रुपैया हुन्छ ।

दशैँमा वितरण हुने नया नोटमध्ये १ सय र ५० रुपैयाको नोटमा मात्र गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ । बाँकी वितरण हुने सबै दरको नोटमा पूर्व गभर्नर युवराज खतिवडाको हस्ताक्षर हुने राष्ट्र बैंकले जनाएको छ । र, ५० रुपैयाको केही नोटमा पूर्व गभर्नरको हस्ताक्षर पनि हुन सक्छ । राष्ट्र बैंकमा केही नोट स्टकमा पनि रहेकोले ति नोट सक्नु पर्ने भएकोले बाहिर आउँछन् ।

नेपाल सरकारका भूतपूर्व कर्मचारीलाई भने ५९ हजार रुपैया बराबरको नया नोट सटही गर्ने व्यवस्था मिलाएको छ । गत वर्ष ५५ हजार रुपैयासम्मको नोट सटही गर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले सेना, प्रहरी, सशस्त्र प्रहरी तथा निजामती कर्मचारीलाई कार्यालयमै नया नोट सटही गरी दिने गरी तत् कार्यालयहरूले व्यवस्था गर्नका लागि एकमुष्ठ नया नोट सटही गर्न पाउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *