दशौँ आर्किटेक्चर प्रदर्शनी सुरु

Post Date : June 18, 2016 | 8:59 am

ललितपुर, ३ असार । एसोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर(एएसए) पुल्चोक इञ्जिनियरिङ क्याम्पसको आयोजनामा आजदेखि १० आैँ राष्ट्रिय एएसए आर्किटेक्चर प्रदर्शनी सुरु भएको छ ।

क्याम्पस हाताभित्र सुरु गरिएको सो प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

सो अवसरमा पुल्चोक इञ्जिनियरिङ क्याम्पस प्रमुख प्रा त्रिरत्न बज्राचार्यले क्याम्पसबाट उत्पादन भएका विद्यार्थी इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले यहाँ अध्ययनरत विद्यार्थीको क्रियाकलापले समाजमा राम्रो सन्देश दिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त प्रदर्शनीमा फोटोग्राफी, कलाकृति, भूकम्पप्रतिरोधात्मक घरको नमुनालगायत रहेको इन्जिनियरिङ स्नातक तहमा अध्ययनरत विद्यार्थीको भूमिका प्रदर्शन गरिने बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीबाट आर्ट तथा फोटोग्राफी प्रतियोगिता समेत हुने बताइएको छ ।

हस्तकलाबाट निर्मित शाहवंशीय, मल्लकालीन, किराँत युग, लिच्छवीकालीन, राणाकालीन समयमा बनेका विभिन्न प्रकारका दरबारको तस्बिर प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा नुवाकोट दरबार, भीमसेन थापाको दरबार, घन्टाघर, स्टाफ कलेजलगायतको तस्बिर रहेका छन् ।

सो अवसरमा ‘डा एसवी माथे बि आर्क थेसिस अवार्ड–२०७२’ विद्यार्थी नीरन महर्जनलाई प्रदान गरिएको थियो । बि आर्क थेसिसअन्तर्गत विसं २०७२ को तेस्रो वर्षमा अध्ययनरत महर्जनको थेसिस उत्कृष्ट भएबापत सो अवार्ड दिइएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *