दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए

Post Date : October 3, 2016 | 5:21 pm

मुस्ताङ, १७ असोज । हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् ।

जिविसले यहाँबाट बाहिरिने एउटा भेडाच्याङ्ग्राका लागि रु ६५ का दरले व्यवसायीबाट कर असुली गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घासामा रहेको उक्त कर सङ्कलन केन्द्रका अनुसार, घटस्थापनाको दिनसम्म २० हजार ९७२ वटा भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका हुन् ।

बेनी–जोमसोम सडकखण्ड हुँदै व्यवसायीले देशका विभिन्न जिल्लामा भेडाच्याङ्ग्रा आपूर्ति गरिरहेका छन् । जिविसका खरिदार एवम् कर सङ्कलन केन्द्रका प्रमुख राजेन्द्र सामन्तले असोज ८ गतेबाट भेडाच्याङ्ग्रा निकासी सुरु भएको बताउनुभयो । “अब जिल्लाबाट लगभग यति नै भेडाच्याङ्ग्रा बाहिरिन्छ, तिहारको पूर्वसन्ध्यामा थोरै सङ्ख्यामा जाने गर्दछ”, उहाँले भन्नुभयो – “घटस्थापनाको दिनमात्रै पाँच हजार २०० भेडाच्याङ्ग्रा बाहिरिए ।” जिविसले भेडाच्याङ्ग्राबाट रु १३ लाख ६५ हजार कर सङ्कलन गरेको जनाएको छ । यहाँबाट आएका भेडाच्याङ्ग्रा कम्तीमा रु २५ हजारमा बजारमा किनबेच भइरहेको छ ।

यसवर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाविसका भेडापालक कृषकको गोठमै व्यापारी पुगेर दसैँलाई खरिद गरी ल्याएका हुन् । पछिल्ला तीनवर्षयता दसैँमा बजारमा हुने मासुको मागलाई जिल्लामै उत्पादित भेडाच्याङ्ग्राले पूर्ति गरिरहेको छ । “यसवर्ष डोल्पाबाट केही भेडाच्याङ्ग्रा भित्रिएको देखिएको छ” – पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा नन्दलाल बर्माले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *