दूध बेचेर एक लाख आम्दानी

Post Date : May 30, 2017 | 5:45 pm

रामपुर (पाल्पा), १६ जेठ । मस्याम, डुम्रेकी सीता अस्लामी गाईपालन व्यवसाय थालेपछि पाल्पामै नमुना महिला व्यवसायीका रुपमा चिनिनुहुन्छ । विगत आठ वर्षदेखि व्यवसाय थाल्नुभएका उहाँले गाईपालनबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

बीसवटा उन्नत जातका गाई आम्दानी गर्दैआउनुभएका उहाँको फार्ममा जर्सी जातका १५ वटा गाई दुहुना छन् । “दूध बेचेर दैनिक रु छ हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।

गाउँकै डुम्रे दुग्ध उत्पादक सहकारीमा अस्लामीले प्रतिलिटर रु ५० मा दूध बिक्री गर्नुहुन्छ । उहाँले विदेशिएका श्रीमान्लाई स्वदेश फिर्ता गरी यही व्यवसायमा संलग्न गराउनुभएको छ । सो व्यवसायमा अस्लामीले रु १८ लाख लगानी गर्नुभएको छ । डुम्रे दुग्ध उत्पादक सहकारीले अस्लामीलाई बिना धितो ऋण उपलब्ध गराएपछि व्यवसाय गर्न सजिलो भएको हो ।

सुरुवातमा अस्लामीले एउटा गाईबाट फार्मको सञ्चालन गर्नुभएको हो । अहिले उहाँको फार्ममा २० वटा जर्सी जातका माउ गाई छन् । व्यवसाय सञ्चालनका लागि जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु २० हजार अनुदान उपलब्ध गराएको प्राविधिक शेरबहादुर रानाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *