निर्वाचनको उत्साह सेयर बजारमा

Post Date : May 2, 2017 | 5:31 pm

काठमाडौँ, १९ वैशाख । स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दिन आज धितोपत्र बजारमा करिब रु ९३ करोडको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल एक सय ४३ कंका १५ लाख ४८ हजार कित्ता सेयर रु ९२ करोड ९० लाखमा खरिद बिक्री भएका छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै बजार उकालो लागेको हो । स्टकको सेयर कारोबार मापक सूचक ७.५५ अङ्कले बढेर १६५८.३३ अङ्कमा पुगेको छ । नेप्से परिसूचक सूचक बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको रु चार करोड २९ लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल एसबिआइ बैंक लिको कारोबार रकमका आधारमा दोस्रो भएको छ । सो बैंकको रु तीन करोड ४६ लाख बराबरको सेयर खरिद बिक्री भएको छ ।

आज समग्र समूहमध्ये चार समूहको सेयर कारोबार वृद्धि भएको तथा चार समूहको सेयर मूल्य घटेको स्टकले जनाएको छ । त्यसमा बैंकिङ ६.८८, विकास बैंक १६.४३, जलविद्युत् ३.१६ र बिमा ७९.०२ अङ्कले बढेको छ । त्यस्तै होटल २८.८८, फाइनान्स २.१७, उत्पादन समूह ५.४६ र अन्य २.३२ अङकले घटेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *