नेपाली काँग्रेसको संसदीय दलको निर्वाचन चैत २४ गते, निर्णय वहुमतबाट

Post Date : March 28, 2016 | 4:55 am

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा १३ औं महाधिवेशनको नतिजा आएको दुई साता नवित्दै गुटबन्दीलाई प्रोत्साहन गर्ने काम सुरु भएको छ ।

पार्टीको संसदीय दलको नेता चयनका लागि निर्वाचनको मिति तोक्ने विषयमै पार्टी दुई खेमामा विभाजित भएको छ । १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले संसदीय दलको निर्वाचन गराउन ३ सदस्यीय समिति गठन गरेकामा समितिको आइतबार बसेको बैठक सहमतिका आधारमा निर्णय गर्न असफल भएको छ । मिति तोक्ने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल पक्षधर नेताबीचको विवाद्का कारण समितिले सात घण्टा लामो प्रयासपछि वहुमतका आधारमा संसदीय दलको निर्वाचन चैत २४ गते गर्ने निर्णय गरेको छ । निर्वाचनका लागि उम्मेद्वारको मनोनयन गर्ने मिति भने चैत २३ गते तोकिएको छ । समितिले संसदीय दलको कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिनुभयो ।

तीन सदस्यीय समितिका संयोजक रिजाल र सदस्य सुरेन्द्र पाण्डे सभापति शेरबहादुर देउवा तथा अर्का सदस्य गुरु घिमिरे रामचन्द्र पौडेल पक्षधर मानिनुहुन्छ । समितिको निर्णयप्रति पौडेल पक्षधर घिमिरेले असहमति जनाउनुभएको छ । उहाँले निर्णय लेखिएको माइन्युटमा नोट अफ डिसेन्ट लेख्नुभएको छ । संसदीय दलको विधान संशोधन गरेर मात्र निर्वाचनको मिति तोकिनुपर्ने आफ्नो मागलाई देउवा पक्षधर नेता रिजाल र पाण्डेले नमानेका कारण आफूले नोट अफ डिसेन्ट लेखेको बताउनुभयो ।

पार्टीका तत्कालीन सभापति सुशिल कोइरालाको गत माघ २७ गते निधन भएका कारण काँग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *