नेपाल टेलिकमको 4G/LTE सेवा शुरु

Post Date : January 2, 2017 | 4:24 pm

काठमाडौँ, १८ पुस । नेपाल टेलिकमले २०७३ पुस १७ नेपालमै पहिलो पटक 4G/LTE सेवाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । आज आयोजित एक समारोहका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले 4G/LTE सेवाको लोगो अनावरण गरी यो सेवाको शुभारम्भ गर्नुभयो ।

उक्त अवसरमा मन्त्री कार्कीले सूचना प्रविधिमा भएको विकासमार्फत सूचना क्रान्तिका लागि तयार रहनु पर्ने आवश्यकतामा जोड दिदै यसका लागि 4G/LTE सेवाले महत्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले गाउँ गाउँमा ब्रोडब्यान्डमार्फत सेवा दिन नेपाल टेलिकम मात्र सक्षम भएको बताउँदै यसले दैनिक जीवनलाई सहज बनाउन समेत सघाउ पुरयाउने बताउनु भयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिस्पर्धी बजारमा प्रविधिमैत्री बन्नु आवश्यक भएको बताउँदै 4G/LTE सेवाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री बनाउन समेत सहयोग पुग्ने बताउनु भयो । सरकारले सूचना प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्न थालेको र यसलाई 4G/LTE सेवाले सघाउने विश्वास ब्यक्त गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सेवा सुरुवात गर्न ३ महिनाको समय सीमा दिएकोमा नेपाल टेलिकमले समयमै यो कार्य सम्पन्न गरेकोमा बधाई दिदै आगामी दिनमा समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी दिनमा 4G/LTE को कभरेजलाई बढाउन सकेमा Digital Divide कम हुने र ग्रामीण क्षेत्रमा समेत विभिन्न क्रियाकलाप गर्न सघाउ पुग्ने भएकोले प्राधिकरणले यसका लागि ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी विभिन्न कार्य गर्ने योजना बनाएको बताउनु भयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले 4G/LTE को विश्व मानचित्रमा समावेश हुने अवसर पाएकोमा गौरव महसुस भएको बताउदै यसबाट नेपाल टेलिकमले सेवाग्राहीको मन जित्न सफल हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले प्रथम चरणमा काठमाडौँ र पोखरा उपत्यकाका सेवाग्राहीहरुको लागि Peak Data Rate 32.4 Mbps डाउनलोड स्पिड प्रदान गर्न सक्ने नेटवर्क संचालनमा ल्याएको र देशको सम्पूर्ण भू–भागमा यो सेवा क्रमिक रुपमा थप High Speed Data Service को रुपमा पुरयाउने लक्ष्यका साथ गृहकार्य अघि बढिसकेको जानकारी गराउनु भयो । नेपाल टेलिकमको 4G/LTE सेवा पनि अन्य सेवा जस्तै ग्राहकको पहिलो रोजाई बन्ने र नेपाली जनताको अपार माया प्राप्त गर्न सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक अशोक कुमार थापाले काठमाडौं उपत्यका तथा पोखरामा 4G/LTE सेवा सञ्चालन गर्न विद्यमान Site तथा Network मा केही Upgrade गरी छोटो समय भित्र सेवा सञ्चालनका लागि आपूर्तिकर्ता कम्पनी Huawei Technologies सँग सम्झौता सम्पन्न भई आयोजना कार्यान्वयन भएको बताउनु भयो । हाल एक पटकमा झण्डै ३ लाख ५० हजार ग्राहक समेट्न सकिने जानकारी दिदै उहाँले आगामी दिनमा कम्पनीको सवल वित्तीय अवस्थाको सुनिश्चित गराउन समेत 4G सेवानै प्रमुख आधार बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

हाललाई GSM पोष्टपेड मोबाइलमा मात्र यो सेवा उपलब्ध हुनेछ । यसका लागि सेवाग्राहीले *444# डायल गरी Register गर्न सकिन्छ । सन् २०१७ जनवरी भित्रमा 4G सेवाको लागि Register गर्ने GSM पोष्टपेड सेवाग्राहीहरुलाई 4GB Promotional Package को रुपमा प्रतिदिन 1GB डाटाको दरले ४ दिनको लागि 4GB निःशुल्क प्रदान गरिने छ । उक्त सुविधा उपभोग गरिसकेपछि अन्य विभिन्न डाटा प्याकेज खरिद नगरेको अवस्थामा विद्यमान डाटा महसुल दर रु. एक प्रति एमबी लाग्नेछ । साथै हाल जिएसएम पोष्टपेट मोवाइल सेवाग्राहीहरुलाई उपलब्ध रहेका विभिन्न डाटा प्याकेजहरु लिई 4G सेवा उपभोग गर्न सकिन्छ । भविष्यमा पनि डाटा सेवालाई थप विविधिकरण गरी अझ आकर्षक बनाइने छ ।

नेपाल टेलिकमको GSM mobile मार्फत नेपाल टेलिकमको वेबसाइट (www.ntc.net.np), रिचार्ज गर्ने वेबसाइट (webrecharge.ntc.net.np) र ःMeet (www.meet.net.np) browse गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ ।

आजै पोखरामा समेत एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरियो । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक सिद्धप्रताप भारतीले काठमाडौंमा गरिएको शुभारम्भ समारोहलाई 4G/LTE नेटवर्कमार्फत Youtube भिडियो देखाएर यसको शुभारम्भ गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *