नेपाल टेलिकमबाट फोर जी सेवा सुरु गर्ने गरी सुधार योजना सार्वजनिक

Post Date : April 21, 2016 | 3:21 pm

फोर जी सेवाले मात्र पुग्दैन ः मन्त्री

नेपाल टेलिकमले दूरसंचार प्राधिकरणबाट अनुमति पाउनासाथ फोर जी सेवा सुरु गर्ने गरी आफ्नो सुधारको कार्ययोजना सार्वजनिक गरेको छ ।

नेपाल टेलिकमले बुधबार सूचना तथा संचारमन्त्री शेरधन राईको उपस्थितिमा प्राधिकरणबाट अनुमति पाउनासाथ महानगरपालिका र उपमहानगरपालिकाहरुमा फोर जी सेवा सुरु गर्ने लक्ष्यसहितको सुधार कार्ययोजना सार्वजनिक गरेको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले वाइम्याक्स प्रविधिमार्फत देशव्यापीरुपमा वाइफाइ सेवा संचालनमा ल्याउन आगामी असार महिनाबाट पूर्वाधार विस्तारको काम अगाडि बढाउने बताउनुभयो । नेपाल टेलिकमले वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई आगामी जेठ महिनादेखि निःशुल्क रुपमा सिमकार्ड वितरण गर्ने योजना पनि सार्वजनिक गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक आचार्यले निःशुल्क सिमकार्ड वितरण, फोर जी सेवाको शुभारम्भ, थ्री जी सेवाको विस्तार, रिचार्जमा रहेको समस्या लगायतका विषयलाई टेलिकमले उच्च प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

टेलिमकले सार्वजनिक गरेको सुधार कार्ययोजनामा प्रबन्ध निर्देशक र विभागीय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता लागू गर्ने पनि उल्लेख छ । कार्ययोजनामा आगामी आर्थिक वर्षदेखि प्रबन्ध निर्देशकले संचालक समिति र विभागीय प्रमुखहरुले प्रबन्ध निर्देशकसँग कार्यसम्पादन सम्झौता गरी अर्धवार्षिक रुपमा मूल्यांकन गर्ने तथा सबै कर्मचारीलाई पद्, योग्यता र कार्य विवरण खुलाइ कार्य जिम्मेवारी सुम्पिने उल्लेख छ । संचालक समितिका अध्यक्ष रहेका सूचना तथा संचार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने सबै कर्मचारीलाई यहि वैशाख मसान्तसम्म कार्य जिम्मेवारी सुम्पिएर दैनिक आठ घण्टा अनिवार्यरुपमा काममा लगाइनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुले राम्रोसँग काम नगरेका कारण मोबाइलको गुणस्तरका बारेमा गुनासो आएको भन्दै युनियनका नाममा दादागिरी देखाउने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राईले टेलिकमले सार्वजनिक गरेको सुधार कार्ययोजना अपुरो रहेको बताउनुभयो । उहाँले फोर जी र थ्रीजी सेवाले मात्र टेलिकम प्रतिस्पर्धामा टिक्न नसक्ने भन्दै सबै सामुदायिक संस्थाहरुमा इन्टरनेटको सुविधा पुरयाउने र युवाहरु सबैलाई इन्टरनेटले जोड्ने कार्यक्रम ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

नेपालमा हाल ६ वटा दूरसंचार सेवा प्रदायक कम्पनी रहेकामा नेपाल टेलिकमको बजार हिस्सा ४७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *