नेपाल टेलिकमले पोखराको छिनेडाँडामा सञ्चालनमा ल्याएको MSAG एक्सचेञ्ज उद्घाटन

Post Date : January 8, 2017 | 5:15 pm

काठमाडौँ, २४ पुस । सूचना तथा सञ्चार मन्त्री माननीय सुरेन्द्रकुमार कार्कीले (राम कार्की) आज २०७३ पुस २४ गते पोखरा उपमहानगरपालिका वार्ड नं १८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको MSAG एक्सचेञ्जको उद्घाटन गर्नुभयो । उहाँले पुम्दीभुम्दीका स्थानीय राजु क्षेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्लेगरी उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकम मार्फत सरकारले सहयोग गर्ने बताउनु भयो । नेपाल टेलिकमसँग बलियो पूर्र्वाधार र दक्ष जनशक्ति भएको र यहाँका कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउनसक्ने बताउनु भयो ।

सो अवसरमा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने ब्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिँदै उहाँले नेपाल टेलिकमले नाफा हुने क्षेत्रमा कमाएर दुर्गम र विकट भेगमा सेवा विस्तार गरिरहेको बताउनु भयो । उहाँले पोखरा नगरलाई वाइफाइ फ्रि Zone को रुपमा विकास गर्न कम्पनीले सहयोग गर्नुपर्ने बताउनु भयो ।

उक्त अवसरमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताउनु भयो । उहाँले एक्सचेञ्जको समुद्घाटनका अवसरमा रु पचास बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएकोसमेत जानकारी दिनुभयो ।

उक्त अवसरमा दूरसञ्चार कार्यालय पोखराका प्रमुख नरेशकाजी शाक्यले अतिथिहरुको स्वागत गर्दै सो एक्सचेञ्जको क्षमता ७३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने सुविधा पनि रहेको उहाँले जानकारी दिनुभयो । सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा फ्याक्स सुविधा लिन सकिने र त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने जानकारी उहाँले दिनु भयो ।

कार्यक्रमको सभापतित्व गर्दै पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक सिद्ध प्रताप भारतीले कुनै वेला धनीमानीले मात्र उपभोग गर्ने टेलिफोन सेवा हाल आधारभूत आवश्यकताको वस्तुका रुपमा परिणत भएको र यस सेवालाई जनता समछ पुराउने कार्यमा नेपाल टेलिकमले भूमिका निर्वाह गरिरहेको बताउनु भयो । उहाँले स्थानीय उपभोक्ताहरुले उपलब्ध टेलिफोन सेवाप्राप्त गरेर लाभ लिन समेत आग्रह गर्दै एक्सचेञ्ज स्थापनाका लागि सहयोग गरेकोमा स्थानीय समाज सुधार आमा समूहलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त अवसरमा सो क्षेत्रका सभासद शारदा पौडेल, कम्पनी प्रमुख ब्यावसायिक अधिकृत प्रदीप राज उपाध्याय, स्थानीय वासिन्दा,व्यवसायी,समाजसेवी लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *