पत्रकारको प्रभातफेरिमा पातलो उपस्थिति

Post Date : March 29, 2016 | 8:11 am

नेपाल पत्रकार महासंघले आफ्नो ६१ औं स्थापना दिवसका अवसरमा मंगलबार देशभर प्रभातफेरि निकालेको छ ।

महासंघ र अन्तर्गतका शाखाहरुले देशभर निकालेका प्रभातफेरिमा पत्रकारहरुले न्युनतम तलब सुविधा पाउन नसकेको विषयले चर्चा पाएको छ । महासंघ स्थापना भएको ६ दशक हुँदा पनि पत्रकारहरुको पेशागत सुरक्षाको अवस्था निकै नाजुक रहेको छ । पत्रकारहरुको पेशागत सुरक्षाका लागि भन्दै दुई दशक पहिले श्रमजिवी पत्रकार ऐन ल्याइए पनि अधिकांश संचारमाध्यमले ऐनको कार्यान्वयन गर्न अटेरी गर्दै आएका छन् । ऐनको कार्यान्वयन नहुँदा अधिकांश पत्रकारहरु अझै पनि सरकारले तोकेको न्युनतम पारिश्रमिक पाउनबाट वञ्चित छन् । पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै महासंघले निकालेको प्रभातफेरिमा निकै कम पत्रकार मात्र सहभागी भएका छन् । महासंघले मंगलबार विहान काठमाडौको भृकुटीमण्डपबाट निकालेको प्रभातफेरीमा पाँच दर्जन पत्रकार पनि सहभागी भएनन् । प्रभातफेरिमा महासंघका केन्द्रीय सदस्यहरु नै अनुपस्थित थिए । पूर्वअध्यक्ष मध्येमा विष्णु निष्ठुरी र हरिहर विरही मात्र सहभागी हुनुभयो । पत्रकारहरुको पातलो उपस्थितिबीच निकालिएको प्रभातफेरि शान्तिवाटिका पुगेपछि गरिएको कोणसभामा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुकले आर्थिक समृद्धि हासिल गरेको अवस्थामा मात्र पत्रकारहरुको पेशागत सुरक्षा सम्भव हुने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासलाई आफ्नो समाचारको विषयवस्तु बनाउन पत्रकारहरुसँग आग्रह समेत गर्नुभयो ।

सभामा महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासंघले दवाबकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले अरुका हक अधिकारका लागि आवाज उठाउने पत्रकार आफैं कानून अनुसारको सेवा सुविधाबाट बञ्चित हुँदा त्यसले समाचारको प्रकाशन-प्रसारणमा असर पर्ने भन्दै यस विषयलाई महासंघले गम्भिरतापूर्वक लिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *