पर्यटनमा विविधीकरण गर्नुपर्ने खाँचौ औँल्याउँछन् चितवनका व्यवसायी

Post Date : September 27, 2016 | 6:07 pm

रत्ननगर (चितवन), ११ असोज । नेपालकै तेस्रो पर्यटकीय केन्द्रको रुपमा चितवनलाई हेरिन्छ । काठमाडौँ र पोखरा पछि पर्यटकीय गन्तव्य चितवन हो ।

चितवनको पनि सौराहा मुख्य गन्तव्य हो । यहाँ जङ्गल सफारी र हात्ती सफारी मै पर्यटक केन्द्रित हुन्छन् । समग्रमा भन्दा चितवनमा ‘वाइल्ड लाइफ’ पर्यटन मात्रै देखिन्छ ।

‘जङ्गल सफारी र इलिफेन्ट राइडले मात्रै अब पर्यटन चल्दैन, अब हाम्रो सामु पर्यटनको विविधीकरण गर्ने चुनौती छ’ – चितवन पर्यटन विकास समितिका महासचिव तथा पर्यटनका जानकार विश्व सुवेदीले भन्नुभयो ।

जिल्ला विकास समिति चितवनका पर्यटन शाखा प्रमुख प्रकाश पौडेल नेपालका जुनसुकै क्षेत्रमा पनि पर्यटनका गतिविधि गाउँ केन्द्रित गरेर विविधीकरण गर्न सकिएन भने पर्यटन व्यवसाय फस्टाउन नसक्ने बताउनुहुन्छ । जिविस चितवनले अहिले होमस्टेको विकाससँगै ग्रामीण पर्यटन प्रवद्र्धनमा जोड दिएको छ ।

यस वर्ष जिविसमार्फत पर्यटन क्षेत्रको विकासका लागि रु १२ लाख खर्च गर्ने योजना छ र ती सबै ग्रामीण पर्यटन विकास र होमस्टेमा लगानी गरिने छ ।

चितवनको माडीमा अहिले ११ वटा सुविधायुक्त होमस्टे सञ्चालनमा छन् । यस्तै कुमरोज र मेघौलीमा पनि केही वर्ष यतादेखि नमुना होमस्टे निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।

अहिलेसम्म चितवनमा आएका विदेशी पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी सौराहा जान्छन् । बाँकी पर्यटक मेघौली, कसरा सेक्टर तथा नवलपरासीबाट निकुञ्ज घुम्ने गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।

चितवनको देवघाटधाम अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो ।

पश्चिम चितवनको मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा १० करोड भन्दा बढीको लगानीमा सुविधासम्पन्न होटलहरु प्रशस्तै खुलेका छन् । तर पनि सौराहा बाहेक अन्यत्र पर्यटन व्यवसाय आशातित रुपमा फस्टाउन नसकेको पर्यटनविज्ञ विश्व सुवेदी बताउनुहुन्छ ।

चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल भन्नुहुन्छ, “पहाडी क्षेत्रलाई पनि पर्यटनको गन्तव्य बनाउनुपर्छ र विविधीकरण ल्याउनुपर्छ । अनि मात्रै विकास हुन्छ ।”

पर्यटनमा विविधीकरण ल्याउन जिविसले यस वर्ष दक्षिण माडीलाई इको नगर बनाएर थप होमस्टे निर्माणमा लगानी गर्ने तयारी गरेको छ । पश्चिम पटिहानीमा पर्यटन पूर्वाधार निर्माण गरेर विकासका योजना ल्याएको पर्यटन शाखा अधिकृत प्रकाश पौडेल बताउनुहुन्छ ।

चिवतनको पहाडी गाविस चण्डिभञ्याङको याकराङमा गुरुङ होमस्टेका लागि प्रक्रिया थालिएको र जिल्लाकै अग्लो पहाड सिंराईचुली र ऐतिहासिक क्षेत्र उपरदाङगढीमा पर्यटन विकासका कार्यक्रम यो वर्ष चलाइने पौडेलले बताउनुभयो ।
गाउँ गाउँमा पर्यटक पूर्वाधारलाई समेत टेवा पुग्ने गरी करिव रु २ करोडको लागतमा कृषि सडकहरु समेत निर्माण भएको जिविसको दावी छ ।

एकातर्फ ठूला रिसोर्ट बनाएर एकथरि पर्यटकलाई राख्ने वातावरण बनाइएको छ तर अर्का थरि पर्यटकलाई बस्न होमस्टे नै महत्वपूर्ण हुन्छ । त्यसैले होमस्टेलाई पनि सँगसँगै विकास गर्दै जानुपर्ने चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली बताउनुहुन्छ ।

चितवनमा समितिले ४० पर्यटकीय क्षेत्रको पहिचान गरी तिनीहरुको प्रबद्र्धन जोड दिँदै आएको छ । चितवनको जलविरेमा रहेको लामो झरना आफैंमा महत्वपूर्ण छ । यहाँ क्यानोनिङ गर्न चाहने पर्यटक आउँछन् ।

अहिले चितवनको कुमरोजमा नमुना दराई होमस्टे सञ्चालित छ । अघिल्लो वर्षदेखि माडीमा ११ वटा मगर होमस्टे सञ्चालनमा ल्याइएको छ । पश्चिम मेघौलीमा ८ वटा होमस्ेट सञ्चालनमा छन् । चितवनको कुमरोजमा थारु र गुरुङका गरी २० वटा होमस्टे निर्माण भइरहेका छन् ।
सूचना अधिकारी अर्यालका अनुसार २०७२ को साउन महिनामा २ हजार ६०० पर्यटक आएकामा बढेर यो वर्ष साउनमा ७ हजार ४४२ पुगेको छ ।

विश्व पर्यटन दिवसको अवसरमा आज चितवनको धार्मिक पर्यटन क्षेत्र देवघाट जाने बाटो सरसफाइ र वृक्षरोपण गरिएको छ । पर्यटन विकास समिति चितवन र जिविस चितवनको संयुक्त आयोजनाका कार्यक्रम भएको हो । (नारायण ढुंगाना) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *