पुँजीगत खर्च आठ प्रतिशत

Post Date : November 17, 2016 | 4:03 pm

चितवन, २ मङ्सिर । चालु आवको पहिलो चौमासिकमा करिब आठ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका अनुसार चालु आवको चार महिनामा पुँजीगततर्फ रु २८ करोड ८५ लाख ९६ हजार खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवप्रसाद पन्थीका अनुसार चालु आवमा पुँजीगततर्फ रु तीन अर्ब ६१ करोड २८ लाख बजेट विनियोजन भएको छ । खर्च भएको रकम कुल बजेटको ७ दशमलव ९८ प्रतिशत हो ।

पुँजीगततर्फ सबैभन्दा ठूलो रकम भएको नारायणगढ–मुग्लिन सडक आयोजनाको हालसम्म रु नौ करोड ३१ लाख मात्र खर्च भएको छ । सो आयोजनाको यस वर्षको बजेट रु एक अर्ब ५५ करोड ६६ लाख रहेको छ ।

त्यस्तै डिभिजन सडक कार्यालयको पहिलो चौमासिकमा रु ११ करो ७२ लाख मात्र खर्च भएको छ । सो कार्यालयको बजेट रु ५५ करोड रहेको छ । पछिल्लो समय हतारमा बजेट सक्ने उद्देश्यका साथ गरिने काम निरुत्साहित गर्न अहिलेदेखि नै निर्माणका क्षेत्रमा कडाइका साथ काम अगाडी बढाउनुपर्ने पन्थी बताउनुहुन्छ ।

जिल्लाको चालुतर्फ ३७ दशमलव ६६ प्रतिशत खर्च भएको छ । चालुतर्फ वर्षभरको बजेट रु पाँच अर्ब ५१ करोड ७४ लाख ५५ हजार रहेकामा रु दुई अर्ब सात करोड ८० लाख ७१ हजार खर्च भएको छ । जिल्लाको आन्तरिक राजस्व कार्यालयसहित विभिन्न कार्यालयले पहिलो चौमासिकमा रु पाँच अर्ब ४२ लाख ६७ हजार राजस्व सङ्कलन गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *