पुनःनिर्माण सकिएका २४ घरधनीलाई तेस्रो किस्ता

Post Date : April 12, 2017 | 9:03 am

गोरखा, ३० चैत । निजी आवास पुनःनिर्माण सम्पन्न भएका गोरखाका २४ घरधनीलाई तेस्रो किस्ताको रकम उपलब्ध गराइएको छ ।

भूकम्पले क्षति पुगेका ७० हजारवटा नयाँ घर पुनःनिर्माण गर्नुपर्ने भए पनि भूकम्प गएको दुई वर्ष हुनै लाग्दा मसेलका पाँच र पन्द्रुङका १९ घरको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ ।

भूकम्प प्रतिरोधी मापदण्डअनुसार यी घर ढुङ्गा, माटो र काठको जोडाइबाट बनाइएको हो । सेभ द चिल्ड्रेनको आर्थिक र स्वाँरा सघन गाउँ विकास केन्द्रको साझेदारीमा निर्माण सम्पन्न भएका घरमा बायोग्यास र शौचालय पनि निर्माण गरिएका छन् । पुनःनिर्माण भएका घरधनीले सरकारी सहयोगको सट्टा संस्थाको सहयोगमा घर बनाएका हुन् ।

स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यक्रम संयोजक वीरेन्द्र श्रेष्ठका अनुसार सङ्घसंस्थाको सहयोगमा ४५० वटा घर पुनःनिर्माण भइरहेका छन् । तीमध्ये २४ घरको अन्तिम किस्ताको रकम भूकम्प प्रभावित लाभग्राहीको बैंक खातामा पठाइसकिएको छ । तेस्रो किस्तामा रु एक लाख उपलब्ध गराइएको हो ।

बायोग्यास वा शौचालय नबनाएर घरमात्रै बनाउने परिवारलाई तेस्रो किस्तामा रु ७५ हजार दिइएको छ । आउँदो असारभित्रमा ४५० वटा घर निर्माण भइसक्ने जानकारी श्रेष्ठले दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *