पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

Post Date : September 26, 2016 | 5:30 pm

म्याग्दी, १० असोज । विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

हरियाली जङ्गलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरबाट मनोरम हिमशृङ्खलाको दृष्यावलोकनका लागि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोरेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक १५० को हाराहारीमा पर्यटक पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने गरेका छन् ।

पर्यटकका लागि यो उपयुक्त समय हो तर मौसम फेरबदलले पर्यटक आगमन प्रभावित हुने गर्छ, मौसममा सुधार हुँदै गएकाले पर्यटकको आगमनसमेत बढिरहेको छ – अध्यक्ष पुनले भन्नुभयो ।”

पर्यटकको आकर्षणस्थल बन्दै गएको समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा बिहानीको सूर्योदयसँगै चम्केका हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । लामो र छोटो प्याकेजमा अन्नपूर्ण पदयात्रामा निस्किएका अधिकांशले घोरेपानी क्षेत्रलाई आफ्नो प्रमुख रोजाइमा पार्ने गरेका छन् ।

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै दन्तलहर झैँ देखिने हिमचुचुरोको दृश्यले त्यहाँ पुग्ने पर्यटक मक्ख परेर फर्कने गरेको स्थानीय होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताउनुभयो ।

यस क्षेत्रबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ भने पुनहिलमा चैत वैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस तथा पुस र माघमा पर्ने सेताम्मे हिउँ पर्यटकको मुख्य आकर्षण हुन् ।

यस क्षेत्रमा विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकसमेत भ्रमणमा आउने क्रम बढेको छ । घोरेपानी हुँदै पुनहिलको भ्रमणमा जाने पर्यटकलाई लक्षित गरी स्थानीयवासीले अहिले यस क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणलाई जोड दिएका छन् ।

गाउँलाई प्लास्टिक मुक्त बनाएका घोरेपानीवासीले लालीगुराँसको संरक्षण र पुनहिलमा थप पूर्वाधार विस्तार गर्ने कामलाई जोड दिएका छन् । घोरेपानीमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *