प्रधानमन्त्री कपको उपाधि काठमाडाैँ विश्वविद्यालयलाई

Post Date : July 14, 2016 | 8:36 am

काठमाडौँ, २९ असार । काठमाडौँ विश्वविद्यालय (केयु) ले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको उपाधि जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा केयुले चार स्वर्ण, चार रजत र पाँच कास्य पदक जित्यो । त्रिभुवन विश्वविद्यालय (टियु) चार स्वर्ण, तीन रजत र एक कास्यसहित दोस्रो भयो ।

बास्केटबलमा टियु विजयी

पुरुष बास्केटबलमा टियु च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा आज भएको फाइनलमा टियुले केयुलाई ४८–३१ ले पराजित गरयो । टियुको जितमा किशोर न्यौपानेले १९ अङ्कको योगदान गरे । पहिलो क्वार्टरमा १२–६ ले अगाडि बढेको टियुले अन्तिमसम्म अग्रता जोगाउँदै दोस्रोमा ८–५, तेस्रोमा १०–८ र चौथोमा १८–१२ अङ्क जोड्यो ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले तेस्रो स्थानमा चित्त बुझायो । पूर्वाञ्चलले कृषि विज्ञान विश्वविद्यालयलाई ४०–२६ ले हरायो । कृषिको जितमा छिरिङ लाक्पा शेर्पाले १९ स्कोर गरे ।

टियुलाई बुद्धिचाल उपाधि

बुद्धिचालको उपाधि टियुले जितेको छ । राउन्ड रोविन लिगमा टियुले ६ खेलमा जित हात पार्दै १२ अङ्क जोड्यो र उपाधि चुम्न सफल भयो । सातौँ चरणको खेलमा टियुले पूर्वाञ्चललाई ४–० ले पराजित गरयो । टियुका मनोज चापागाईंले अभिषेक लिम्बू, सन्जीवकुमार चौधरीले सन्जिव राई, ओमकारराज थपलियाले रवी कटुवाल तथा लक्ष्मीप्रसाद ओलीले सुरज दासलाई हराए ।

त्यस्तै, केयुले ९ अङ्क जोड्दै दोस्रो भयो । उसले लुम्बिनी बौद्ध विविलाई छैटौँ चरणको खेलमा ३–१ ले पाखा लगायो । सुदूरपश्चिमाञ्चलले सातौँ चरणमा नेपाल संस्कृत विश्वविद्यालयलाई ३–१ ले हराउँदै तेस्रो भयो ।

मध्यपश्चिमाञ्चललाई भलिबल उपाधि

पुरुष भलिबलको उपाधि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जितेको छ । चार टोली सहभागी उक्त प्रतियोगितामा राउन्ड रोविन लिगमा मध्यपश्चिमाञ्चल १० अङ्क जोड्दै विजेता बनेको हो । नौ अङ्कसाथ सुदूरपश्चिमाञ्चल दोस्रो तथा आठ अङ्कसाथ टियु तेस्रो भयो ।

विजेतालाई राखेप सदस्यसचिव केशवकुमार विष्ट, सदस्य गङ्गाबहादुर थापा, विभिन्न विश्वविद्यालयका प्रतिनिधिलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष/महिलाको ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालमा विभिन्न आठ विश्वविद्यालयका २८७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस (फोटो: नेपाल स्पोर्ट्स काउन्सिल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *