प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको तयारी पूरा

Post Date : July 10, 2016 | 9:07 pm

काठमाडौँ, २६ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको तयारी पूरा भएको जनाएको छ ।

भोलि सोमबारदेखि सुरु हुने खेलकुदको तयारी पूरा भएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवम् प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका सचिव प्रकाशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

पाँच खेल समावेश प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष÷महिला ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने छ । भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, बास्केटबल राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

तीनदिने प्रतियोगितामा विभिन्न आठ विश्वविद्यालयका २०७ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप सदस्य गङ्गाबहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च हुने अनुमान राखेपले गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *