बार्सिलोनामा सन् २०१९ पछि २० वर्ष पुराना कार चलाउन प्रतिबन्ध लगाइने

Post Date : March 8, 2017 | 8:06 am

म्याड्रिड (स्पेन), २५ फागुन । स्पेनको क्याटलन क्षेत्रीय सरकार (जनरलिटेट) ले सन् २०१९ को सुरुसँगै सन् १९९७ पूर्व बनेका ट्रक तथा सन् १९९४ पूर्व बनेका कारलाई बार्सिलोना सहरमा चलाउनबाट प्रतिबन्ध गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

जनरलिटेट, प्रान्तीय उच्च प्रतिनिधि र स्थानीय प्रतिनिधि सम्मिलित सोमबार बसेको बैठकले पुराना कार तथा ट्रक हटाउने निर्णय गरेको हो ।

बैठकले यस निर्णयसँगै बार्सिलोना क्षेत्रमा यातायातका साधनबाट निस्किने वायु प्रदूषणलाई (आगामी १५ वर्षभित्र) ३० प्रतिशतले कम गर्न सकिने छ भने आगामी पाँच वर्षभित्र वायु प्रदूषणमा १० प्रतिशतले कमी आउने बताइएको छ ।

जनरलिटेटका नेता जोसेफ रुलले आफूहरूको पुराना यातायातका साधन हटाउने यस निर्णयले वास्तविक महसुस हुने गरी प्रदूषण नियन्त्रणमा भूमिका खेल्ने दाबी गर्नुभएको छ ।

उहाँले कारलाई हटाउने निर्णयबाट नागरिकलाई समस्या हुन नदिन सार्वजनिक यातायातको सेवालाई सुधार गर्दै थप व्यवस्थित बनाइने बताउनुभयो ।

स्पेनी कार उत्पादक कम्पनीहरूको सङ्गठन (एएनएफएसी) ले हालै सार्वजनिक गर्दै स्पेनी सडकमा गुड्ने कारहरू औसत १३ वर्ष पुराना रहेका र करिब ६० प्रतिशत कार १० वर्ष पुरानामात्र रहेको दाबी गरेको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *