बाह्रकिलो बजार सुरक्षित ठाउँमा सार्न माग

Post Date : September 23, 2016 | 1:44 pm

गोरखा, ७ असोज । आँबुखैरेनी गोरखा सडकको बाह्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वनको जग्गा अतिक्रमण गरी विस्तार गरेको बजार छोड्न तयार रहेको बताउँदै व्यापारीले आफूहरुलाई सुरक्षित ठाउँमा सार्न सहयोग गर्न आग्रह गरेका छन् ।

दसैँको मुखमा जिल्ला वन कार्यालयले व्यापारीलाई बाह्रकिलोबाट उठाउन खोजेको बताउँदै उनीहरुले चाडपर्वपछि आफूहरु सुरक्षित ठाउँमा सर्ने बताउँदै आएका छन् । वन अतिक्रमण गरी बजार विस्तार भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालयलाई पत्राचार गरी अतिक्रमण रोक्न निर्देशन दिएको थियो । वन कार्यालयले अतिक्रमित जग्गा छोड्न, व्यापारिक सामान अन्यत्र सार्न निर्देशन दिइसकेको जिल्ला वन कार्यालय गोरखाका प्रमुख जीवनाथ पौडेलले जानकारी दिनुभयो ।

व्यापारीको भेलाले पनि चाडपर्वपछि सुरक्षित ठाउँमा सर्ने निर्णय गरिसकेका छन् । बाह्रकिलो बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पौडेलले अन्यत्र सुरक्षित ठाउँको खोजी भइरहेको भन्दै प्रशासनले चाडपर्वको बेला व्यापारीलाई हटाउन नमिल्ने बताउनुभयो । सामुदायिक वनको सहमतिमा घर बनाएर व्यापार सञ्चालन गरेको उहाँको दाबी छ । बाह्रकिलोमा ३० भन्दा बढी व्यापारिक घर र टहरा छन् । यहाँ १३ वर्षअघि वन अतिक्रमण गरी बजार विस्तार सुरु गरिएको थियो ।

वन कार्यालयले हदम्याद जारी गर्ने र त्यो समयभित्र बजार नछाडे डोजर लगाएर भत्काउने चेतावनी दिँदै आएको छ । सडकबाट २५ मिटर क्षेत्रबाहिर बजार विस्तार गर्ने ठाउँको खोजी भइरहेको बहानामा व्यापारीले वनको जग्गा नछाडेका हुन् ।

व्यापारीको भेलाले असोज १ गतेदेखि वनको जग्गामा नबस्ने निर्णय गरेका थिए । आपसी विवादपछि चाडपर्वपछि बजार छाड्ने बताउँदै आएका हुन् । सडकको २५ मिटर क्षेत्र तथा वनको जग्गा अतिक्रमण भएपछि वन कार्यालयले बजार हटाउने तयारी सुरु गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *