बियरिस प्रवृत्तिका महत्वपूर्ण लक्षणहरू

Post Date : December 2, 2016 | 5:32 pm

यतिखेर फेरि नेपालको शेयर बजारमा पुनः उथल–पुथलको अवस्था देखिएको छ । बजार लगातार झरेका कारणले गर्दा आम लगानीकर्ता त्रसित भएका छन् । सेयरको मूल्यमा हुने घटबढका कारण शेयर बजारमा हुने उतार–चढाव हुने गर्छ । सामान्यत हामीले बुझ्दा यदि सेयर खरिदकर्ता धेरै भए बजार बढ्छ र बिक्रेता धेरै हुँदा बजार ओरालो लाग्छ । यो सर्वमान्य मान्यता संसारको सबै स्टक मार्केटमा हुने गर्छ । यहाँ हामी बियरिस बजारको बारेमा चर्चा गर्नेछौं ।

सामान्यतया बजार ओरालो लाग्ने क्रमलाई हामी बियरिस प्रवृत्ति भन्ने गर्छौं । नेप्से अहिले घट्ने क्रममा छ । २०७३ साउन १२ गते नेप्से ईतिहासकै सबैभन्दा उच्च विन्दू १८८१ पुगेको थियो, त्यसपछि बजार ओरालो लाग्न सुरु गरेको हो । साउन २४, २०७३ मा बजार ८८ अंकले क्र्यास भएर १६७५ सूचचांकमा पुग्यो, लगत्तै अर्को दिन पुनः ८३ अंकले बजार बढेर दुवै दिन सर्किट ब्रेक लागेर कारोबार नै आधा दिनमा बन्द भयो । यसरी १८८१ मा पुगेदेखि बजारमा धेरै उतार–चढाव देखिन्छ, बजारले १८८१ सूचकांक पार गर्न सकेको छैन । केही समय सुधार भएर १८३४ पुग्यो तर पुनः ओरालो लाग्यो । त्यसपछि बजार फर्केको छैन । तिहारपछि बजारमा स्थिरता आउने र फेरि बजार बुलिस ट्रेन्डतिर अग्रसर हुने अवस्था सबैले आश पनि गरेका थिए, तर त्यसो भएन, बजार लगातार ओरालो लागेको लागै छ । यसरी बजार ३ बजे बन्द हुँदा सधैं रातो हुने हुँदा लगानीकर्तामा निराशापन प्रस्टै देखिन्छ । बजार लगातार ओरालो लाग्ने क्रम जारी रहँदा साँच्चैको बियरिस ट्रेन्ड सुरु भएको हो वा हैन भनेर धेरै अन्योल भइरहेको छ । बजार घट्नु बियरिस हो र कस्तो किसिमको बियरिस हो भन्ने महत्वपूर्ण हुन्छ ।

सामान्य बियरिसः जुन एक–दुई दिन मात्र कायम रहन्छ ।

मार्केट करेक्सनः जुन ३ देखि ७ दिन जति कायम रहन्छ, पछि बुलिस ट्रेन्ड फलो गर्छ ।

तेस्रो हो, आधिकारिक बियरिस प्रवृत्तिः जुन १० महिनादेखि १७ महिनासम्म जारी रहन्छ । यहाँ अधिकारिक बियरिस प्रवृत्तिको बारेमा चर्चा गरिनेछ ।

nepse-bearis

माथि चित्रमा उच्च बिन्दु पुगेको नेप्से देख्न सक्छौ, चित्र साभार www.nepalstock.com


बियरिस बजारको सर्वमान्य परिभाषाअनुसार यदि २–३ महिनाको अवधिमा बजार २० प्रतिशतले गिरावट भएमा बियरिस प्रवृत्ति सुरु भएको मान्ने गरिन्छ । बुलिस ट्रेन्ड अधिकारिक रूपमा समाप्त भएको र बजारले आफ्नो चक्र गरेको संकेत गर्छ । नेप्से पनि लगातर ओरालो लागेको छ तर अहिले नै यो बियरिस ट्रेन्ड उन्मुख छ वा छैन भनेर बुझ्न जरुरी छ । अहिले नेप्से निरन्तर ओरालो लागेको अवस्थामा यसका केही महत्वपूर्ण लक्षणबारे अवगत हुनु जरूरी छ, जसले हामीलाई आफ्नो लगानीबारे महत्वपूर्ण निर्णय गर्न सजिलो हुनेछ ।

१) लगातार बजार खुल्दा अघिल्लो दिनभन्दा कम मूल्यमा बजार खुल्छ र बन्द हुँदा खुल्दाको मूल्यभन्दा तल पुगेर बन्द हुन्छ । कुनै–कुनै सेयरमात्र खुल्दा बढी मूल्यमा खुल्छन् तर बन्द हुँदासम्म घटेर बन्द हुन्छन् ।

२) देशको अर्थव्यवस्थाले पनि बियरिस ट्रेन्डमा मद्दत पुरयाएको हुन्छ । कुल गार्हस्थ्य उत्पादन स्थिर रहेको अवस्थामा मुद्रास्फीति उच्च हुन्छ जसका कारण लगानीकर्ताको आर्थिक हैसियत नै डामाडोल बनाउने गर्दछ । अहिले नाकाबन्दीपछि अवस्थामा सुधार देखिएको छ, रेमिट्यान्समा पनि खासै कमी देखिएको छैन । मुद्रास्फीति अहिले १० प्रतिशतभन्दा तल कायमा छ जुन हाम्रोजस्तो देशमा सामान्य मान्न सकिन्छ ।

३) बजारमा १८८१ पछि उतार(चढाव धेरै देखिएको छ । त्यस्तो उतार-चढावमा पनि ओरालो लाग्ने क्रम धेरै र सुधार भएको क्रम कम देखा पर्दछ । यसलाई “लो–हाइ” “लो–हाइ” ट्रेन्ड पनि भनिन्छ । १८८१ पछिको ग्राफ हेर्दा त्यस्तो किसिमको बक्र रेखा निर्माण भएको छ कि छैन भनेर लगानीकर्ताले हेर्नुपर्छ ।

४) म्युचुअल फन्ड कम्पनीहरूले सेयरबाट लगानीलाई बैक मुद्दती वा सरकारी ऋणपत्रतिर लगानी विस्तार सुरु गर्छन् । संस्थागत लगानी र ठूला लगानीकर्तामा म्युचुअल फन्ड कम्पनी पनि पर्छन् । बियरिस ट्रेन्डमा म्युचुअल फन्ड कम्पनीहरूले मास सेलिङ गर्छन्, यो पनि हामीले संकेतका रूपमा बुझ्न सक्छौ ।

५) सरकारले बेलाबेलामा बजेट वा नयाँ कानुनमार्फत सुधारका कार्यक्रम ल्याउने गर्छ । त्यस्तो हुँदा एक क्षेत्रलाई फाइदा हुन्छ भने अर्को क्षेत्र त्यसको प्रत्यक्ष मारमा पर्छन् । त्यसरी मारमा पर्ने कम्पनीहरू शेयर बजारमा सूचीकृत छन् भने तिनैले बियरिस प्रवृत्ति ल्याउन सक्छन् । अहिले नेपाल सरकारले कुनै त्यस्तो नीति तर्जुमा गरेको छ वा छैन अध्ययन गर्न जरुरी छ । यदि ल्याएको छ भने कुन क्षेत्रलाई असर गर्छ भनेर हेर्नुपर्छ । भर्खर संसदीय समितिले पारित गरेको बाफियामा संस्थापक सेयरबारे केही नयाँ नियम अख्तियार गरिएको छ । अब त्यसले बैकको स्क्रिपमा नकारात्मक असर गरेको देखिन्छ कि देख्दैन भनेर हेर्न बैंकहरूको सेयरको मूल्य हेर्नैपर्ने हुन्छ । यदि यो सावधानी अपनाइयो भने बजारको अवस्थाबाट अत्तालिनु पर्दैन ।

६) सेयर बजार ओरालो लागेको बेला सेयर विश्लेषक धेरै देखा पर्छन् । प्रायः उनीहरू सेयर खरिद गर्न उक्साउने गर्छन् । कोही सेयर विश्लेषकहरूले ठूला र संस्थागत लगानीकर्ताका काम गर्ने गर्छन् । कोहीले सचेत गराउने किसिमले विश्लेषण गरेका हुन्छन् भने धेरैजसो मिडियाबाजी गरेर आत्तिन पर्दैन जस्ता कुरा बाहिर ल्याउने गर्छन् ।

७) आन्तरिक रूपमा सेयर बिक्री धेरै हुँदै गयो भने त्यसले बियरिस ट्रेन्ड ल्याउने सम्भावना धेरै हुन्छ । ठूला लगानीकर्ताहरूको सेयर धेरै दिनसम्म बिक्रीमा लगातार आयो भने बजार घट्ने क्रम सुरु हुन सक्छ ।

८) सेयर बजारबारे मिडियामा प्रत्यक दिन नकारात्मक समाचार मात्र देखा पर्न थाल्छन् । त्यस्ता समाचार सत्य होस् वा नहोस् तर समाचारले लगानीकर्ताको मनोबल गिराउने काम गर्छ जसले गर्दा हतासमा सेयर बेच्नेको संख्या ह्वातै बढेर आउँछ ।

९) बजारमा सधैं अग्रपंक्तिमा कारोबार गर्ने र हट केक कम्पनी पनि संघर्षरत देखिन थाल्छ । राम्रो मानिएका स्क्रिपहरू पनि घट्दै जान्छन् ।

१०) कारोबार रकम घट्दै जान्छ, बिक्रीकर्ता धेरै देखिन्छन् भने खरिदकर्ता कम हुँदै जान्छन् किनकी खरिदकर्ताले बजार अझै तल झर्छ र सस्तोमा किन्ने भनेर बजार घटोस् भनेर कुरेर बस्न थाल्छन् । यस्तो अवस्थालाई “प्यानिक सेलिङ” भन्छ । “प्यानिक सेलिङ”ले बियरिस ट्रेन्डमा सहयोगी भूमिका खेल्छ ।

११) मार्जिन लेन्डिङमार्फत ऋण लिएर लगानी गरेका लगानीकर्ताले धितो राखेका सेयरको पत्रपत्रिकामा लिलामीको सूचना देखिन थाल्छ । बजार लगातार घट्दा बैकले मार्जिन कल गर्छ तर ऋणीले ऋण चुक्ता गर्न सक्दैनन् अनि बैकको लिलामी सूचना प्रकासित हुन्छ ।

हरेक बुलिस ट्रेन्डलाई बियरले पक्ष लिएको हुन्छ । त्यसैले लगानीकर्ताले बेलैमा सही निर्णय लिन सक्नुपर्छ । नभए बियरिस ट्रेन्डको सिकार हुनुको विकल्प हुँदैन । बियरिस ट्रेन्डमा जस्तोसुकै राम्रो कम्पनी होस्, जतिसुकै नाफा आर्जन गरोस् त्यस्ता कम्पनीको पनि सेयरको मूल्य अकल्पनीय रूपमा तल झर्छ । बियरिस ट्रेन्ड सबैका लागि प्रतिकूल समय हुँदैन, नयाँ लगानीकर्ताले सस्तोमा राम्रो कम्पनीको सेयरमा लगानी गरेर बजार प्रवेश गर्ने अवसर पनि प्राप्त गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *